विदेशी फिल्मसँग भाग्ने निर्माता नेपाली फिल्मसँगै भिड्दै
कोरोना महामारीभन्दा अगाडि एकै मितिमा एकभन्दा बढी फिल्म भिड्नु सामान्य थियो । वर्षमै सयभन्दा बढी फिल्म निर्माण हुने हुँदा कमै फिल्मले सोलो रिलिज पाउँथे । विदेशी फिल्म आउँदा भाग्ने तर आफ्नै देशको फिल्मसँग भिड्ने प्रवृतिका कारण नेपाली फिल्म जति नै उफ्रे पनि भूइँमै सीमित छ । नेपाली फिल्म आ(आफैं भिडेर बस्दा दर्शकमा पनि राम्रो सन्देश जान सकेको छैन ।
महामारीले २ वर्ष फिल्म क्षेत्र ठप्प हुँदा नेपाली फिल्मकर्मीबीच ‘अब मिलेर अगाडि बढे मात्र फिल्म क्षेत्रले गति लिने’ भन्दै बहस भएको थयो । तर, विदेशी फिल्मले सिनेमा हलमा दर्शक फर्काउन थालेपछि नेपाली निर्माताहरुमा ‘मिलेरभन्दा भिडेर अगाडि बढ्ने’ मनस्थिति देखिन थालेको छ । विदेशी फिल्मको डरले नेपाली निर्माताहरु आफ्नै देशका फिल्मसँग भिड्न कस्सिएका छन् ।
यही पुष १६ गतेबाट फिल्म ‘कठपुतली’ रिलिज हुँदैछ । यो फिल्म पहिला एक दिन अगाडि ९पुष १५० आउने तयारीमा थियो । तर, पुष ९ मा आउने फिल्म ‘चुरीफुरी’ लाई एक हप्ता छाड्नु पर्ने भएपछि यो फिल्म एक दिन पछाडि सर्यो । तर, ‘कठपुतली’ ले छाडेको मितिमा पुष २ बाट भागेर ‘चपली हाइट ३’ आएको छ । अब एक दिनको अन्तरमा दुई नेपाली फिल्मको भिडन्त हुनेछ ।
यस वर्षको अर्को ठूलो भिडन्त फागुन १३ गते हुँदैछ । सबैभन्दा पहिला यो मिति फिल्म ‘लप्पन छप्पन २’ ले ‘लक’ गरेको थियो । तर, शिवरात्रीको विदा हत्याउन निर्माता सन्तोष सेनले पनि फिल्म ‘प्रेमगीत ३’ लाई यही मितिमा ल्याउने घोषणा गरे । दुवै निर्माता यो मितिबाट टसमस हुने पक्षमा छैनन् । जसले गर्दा फागुन १३ मा यी दुई फिल्मबीच बक्सअफिसमा ठूलो टकराव हुने देखिन्छ ।
नेपाली फिल्मबीच भिडन्तको श्रृंखला आउँदो वर्षको बैशाखमा पनि हुँँदैन । एक हप्ता अगाडि फिल्म ‘लक्का जवान’ ले बैशाख २३ गतेलाई प्रदर्शन मिति तोकेको थियो । अब यही मितिमा फिल्म ‘कबड्डी ४’ आउने भएको छ । सोमवार टिजर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट घोषणा गरिएको हो । त्यस्तै, अर्को दशैंमा ‘छक्का पञ्जा ४’ र ‘परदेशी २’ बीच पनि भिडन्तको सम्भावना छ ।
हुनत, नेपाली फिल्मलाई नेपाली फिल्मसँगै नभिडेर पनि सुःख छैन । राम्रा मिति सबै हलिउड र बलिउड फिल्मले ‘बुक’ गरिसकेका छन् । विदेशी फिल्मसँग भिड्न नेपाली निर्माताले आँटै गर्दैनन् । अनि, विदेशी फिल्मसँग छलेर प्रदर्शन मिति घोषणा गर्दा घुमिफिरी नेपाली फिल्मसँगै भिड्नु पर्ने हुन्छ । तर, आशा गरिएका फिल्म एकै मितिमा भिड्नु फिल्म क्षेत्रका लागि सुखद कुरा भने होइन । फिल्मीखबरबाट







