भारु एक करोडका लागि नेपाली निर्माताको दौडधुप !
कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उठाउन भारतको सिक्किम सरकारले सिक्किमका ५० प्रतिशत कलाकार लिएर त्यहीँ ७५ प्रतिशत छायांकन गर्ने विदेशी फिल्मलाई भारु एक करोड रुपैयाँ अनुदान दिँदैछ । भारतको एक करोड नेपालमा एक करोड ६० लाख हुन आउँछ । यो रकममा नाम चलेका कलाकारलाई राखेर नेपाली फिल्म बनाउँदा पनि वालछ्याल हुन्छ ।
काठमाडौंबाट ६ सय ३३ किलोमिटरको दूरीमा रहेको सिक्किममा यसअघि धेरै नेपाली फिल्मको छायांकन भइसकेको छ । सहज आवतजावत र भाषाको सहजताले पनि नेपाली निर्माताहरु फिल्म छायांकनका लागि सिक्किमसम्म पुग्ने गरेका छन् । अब सिक्किम सरकारले नै त्यहाँ छायांकन गरिने विदेशी फिल्मलाई अनुदान दिने घोषणा गरेपछि नेपाली निर्माताहरुको दौडधुप सुरु भएको छ ।
सिक्किममा फिल्मको छायांकन गरेर भारु एक करोड कमाउने दाउमा अहिले दिनहुँ कुनै न कुनै नेपाली निर्माताहरु सिक्किमसम्म पुगिरहेका छन् । यतिबेला सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ को त सिक्किममै छायांकन भइरहेको छ । यसैक्रममा, बिहीवार ९हिजो० नायक तथा निर्माता भुवन केसी, निर्देशक तथा निर्माता मिलन चाम्स र निर्माता राजेश घतानी पनि सिक्किम पुगेका छन् ।
निर्माता घतानीले फेसबुकमा भुवन केसी र मिलन चाम्ससँगको तस्विरहरु पोस्ट गर्दै सिक्किम सरकारको निमन्त्रणामा आफूहरु सिक्किम आइपुगेको उल्लेख गरेका छन् । उनको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग निकै राम्रो सम्बन्ध रहेको छ । दशैंअघि उनले आकाश श्रेष्ठलाई लिएर निर्माण गरेको ‘सिमाना पारी’ बोलको गीतको म्यूजिक भिडियो सिक्किममै खिचेका थिए ।
फिल्म ‘वितेका पल’ पछि फिल्म निर्माणबाट टाढा रहेका घतानी यतिबेला नयाँ फिल्मको तयारीमा रहेको बुझिएको छ । सिक्किममा छायांकन गरेको भरमा भारु एक करोड रुपैयाँ हातमा पर्ने भएपछि उनले आफ्नो नयाँ फिल्मको सम्पूर्ण छायांकन सिक्किममै गर्ने योजना बनाएका छन् । यसैको चाँजोपाँजो मिलाउन उनी भुवन केसी र मिलन चाम्सको साथमा सिक्किम पुगेको स्रोत बताउँछ ।
निर्माता घतानीको साथ लागेर भुवन र मिलन सिक्किम जानुको कारण पनि भारु एक करोड रहेको बताइएको छ । सिक्किममा छायांकन गर्ने फिल्मले भारु एक करोड पाउने थाहा पाएपछि भुवनले आफ्नो फिल्म ‘माइतीघर २’ र मिलनले फिल्म ‘गोर्खा वारियर २’ को अधिकांश छायांकन सिक्किममा गर्ने योजना बनाएका छन् । यसैका लागि उनीहरु सिक्किम पुगेको स्रोतको भनाई छ ।
अनमोल केसीले फिल्म ‘ब्याचलर बन्टी’ छाडेपछि भुवन केसीसँग मिलन चाम्सको पानी बाराबारको सम्बन्ध थियो । तर, सिक्किम यात्रामा भने उनीहरु एकसाथ छन् । पैसा कति शक्तिशाली हुन्छ, यसबाट पनि बुझ्न सकिन्छ । अनमोलले ‘एक्स ९’ को छायांकन सकेपछि भुवन ‘माइतीघर २’ बनाउने तयारीमा छन् भने मिलनले ‘गोर्खा वारियर २’ को केही प्रतिशत छायांकन भ्याइसकेका छन् ।
नेपाली फिल्मकर्मीहरुले फिल्मको माध्यमबाट नेपालका मुस्ताङ, सो फोक्सुन्डो, रारा, तिलिचो लगायतका लोभलाग्दा पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्दै आएका छन् । तर, राज्यले फिल्म निर्माणमा कहिल्यै साथ सहयोग गरेको पाइएको छैन । उता सिक्किम सरकारले छायांकन गरेकै भरमा भारु एक करोड अनुदान दिने भएपछि नेपाली निर्माताहरु लोभिनु अस्वभाविक होइन । फिल्मीखबरबाट







