बलिउडमा फिल्म रिलिज गर्न हानाथाप, नेपालमा भागाभाग

जनपत्र
१२ आश्विन २०७८, मंगलवार ०५:५५

कोरोना महामारीले संसारमै यदी कुनै व्यवसायलाई चौपट बनाएको छ भने त्यो फिल्म उद्योग हो । कोरोनाका कारण हलिउड र बलिउड जस्ता संसारका ठूला फिल्म उद्योगहरु महिनौंसम्म बन्द भए । नेपालको फिल्म इन्डस्ट्रीलाई त कोरोनाले १० वर्ष पछाडि धकलेको छ । पछिल्लो समय संक्रमण केही मत्थर हुँदै गएपछि विश्वको फिल्म उद्योग आफ्नो लय समात्न संघर्ष गरिरहेको छ ।

गत महिना जिल्ला प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल खोल्न अनुमति दिए पनि नेपाली निर्माताहरु फिल्म रिलिज गर्न तयार देखिएका छैनन् । भारतमा भने महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखदेखि हल खोल्ने निर्णय गरेपछि फिल्मको रिलिज डेट घोषणा गर्न निर्माताबीच हानाथाप सुरु भएको छ । आइतवार मात्र दुई दर्जन बढी फिल्मले रिलिज डेट घोषणा गरे ।

शनिवार महाराष्ट्र सरकारले सिनेमा हल खोल्ने निर्णय गर्ने वितिक्कै निर्देशक रोहित शेट्टीले फिल्म ‘सूर्यवंशी’ तिहारमा रिलिज गर्ने घोषणा गरेका थिए । त्यसपछि त बलिउडमा फिल्मको रिलिज डेट घोषणा गर्न हानाथाप नै सुरु भयो । सम्भवतः अबको एक वर्ष भारतका हलमा फिल्मको अभाव हुने छैन । बलिउडलाई उठाउन निर्माताहरुले कराडौंको लगानीमाथि जोखिम मोलेका छन् ।

महाराष्ट्र सरकारले अक्टुबर २२ बाट हल खोल्ने निर्णय गरेपछि आइतवार भारतको ठूलो फिल्म निर्माण कम्पनी यशराजले आफ्नो चार ठूला फिल्मको एकसाथ रिलिज डेट घोषणा गर्‍यो । आउँदो नोभेम्बर १९ मा ‘बन्टी और बब्ली २’, २०२२ को जनवरी २१ मा ‘पृथ्वीराज’, २०२२ को फ्रेबुअरी २५ मा ‘जयश भाई जोरदार’ र २०२२ को मार्च १८ मा ‘शम्शेरा’ रिलिज गर्ने यशराजको तयारी छ ।
नाडियाडवाला ग्रान्डसनको ब्यानरले पनि आफ्नो प्रोडक्सनका चार फिल्मको रिलिज डेट घोषणा गरेको छ । जसमा ‘तडप’ डिसेम्बर ३ मा, ‘८३’ यस वर्षको क्रिसमसमा, ‘बच्चन पाण्डे’ २०२२ को मार्च ४ मा र ‘हिरोपन्थी’ २००२ को मे ६ मा रिलिज हुनेछ । अभिनेता अजय देवगनले पनि आफू अभिनीत तथा निर्देशित फिल्म ‘मेडे’ लाई २०२२ को अप्रिल २९ मा रिलिज गर्ने भएका छन् ।
त्यस्तै, ‘जर्सी’ ले २०२१ डिसेम्बर ३१, ‘भूलभूलैया २’ ले २०२२ मार्च २५, ‘गणपती’ ले २०२२ डिसेम्बर २३, ‘आदिपुरुष’ ले २०२२ को अगस्ट ११, ‘सत्यमे जयते २’ ले २०२१ नोभेम्बर २६, ‘केजिएफ २’ ले २०२२ अप्रिल १४, ‘चन्डिगढ करे आशिकी’ ले २०२१ डिसेम्बर १०, ‘राधे श्याम’ ले २०२२ जवनरी १४, ‘विक्रम बेधा’ को हिन्दी रिमेकले २०२२ सेप्टेम्बर ३० लाई प्रदर्शन मिति घोषणा गरेको छ ।
बलिउडमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप हुँदा नेपालमा भने भागाभगको स्थिति छ । प्रदर्शकबाट लगानी सुरक्षित हुने गरी ‘एमजी’ पाए मात्र निर्माताहरु फिल्म रिलिज गर्न तयार छन् । यसका लागि प्रदर्शकहरु पनि सकारात्मक देखिएका थिए । तर, शनिवारबाट बलिउडका फिल्महरुले भकाभक रिलिज डेट घोषणा गरेपछि हल सञ्चालक र वितरकलाई ‘हाई सन्चो’ भएको छ ।

प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा चलचित्र संघले दशैंको मुखमा पनि सिनेमा हल खोल्ने निर्णय गर्न सकेको थिएन । दशैंबाट फिल्म रिलिजको लाइनअप बनाउन संघले विभिन्न पक्षसँँग निरन्तर छलफल गरेको थियो । केही फिल्मलाई एमजी दिन प्रदर्शकहरु तयार पनि भएका थिए । दशैंमा ‘म यस्तो गीत गाउँछु २’ र तिहारमा ‘चपली हाइट ३’ ल्याउने लगभग सहमति जुटिसकेको थियो ।

तर, शनिवार भारतको महाराष्ट्र सरकारले सिनेमा हल खुलाउने निर्णय गरे लगत्तै बलिउडका ठूला फिल्मले रिलिज डेट घोषणा गर्न थालेपछि नेपालका हलवाला र वितरकलाई ‘के खोज्छस् कानो आँखो’ भनेझैं भयो । नेपाली फिल्म चलाउन निर्मातासँग ‘जिउ जिउ’ गरिरहेका प्रदर्शकहरु अब बलिउड फिल्म चलाएर हलसम्म दर्शक तान्ने दाउमा छन् । हुनत, उनीहरुले चाहेका पनि यही थिए ।

तिहारबाट बलिउड फिल्मको अभाव नहुने भएपछि आइतवार साँझ नेपाल चलचित्र संघले यही असोज २१ गतेदेखि देशभरका हल खोल्ने निर्णय गरेको छ । यो मितिबाट तीन महिनासम्म फिल्म रिलिज गर्न चाहने निर्माता र वितरकलाई पहिलो हप्ता ५५ प्रतिशत र दोस्रो हप्ता ५० प्रतिशत शेयर दिइने र नेपाली फिल्मले तोकेको प्रदर्शन मितिमा विदेशी फिल्म नचलाइने संघले निर्णय गरेको छ ।

तर, अब नेपाली निर्मातालाई टाउको दुखाई के बन्न सक्छ भने( ‘बलिउड फिल्मले माहोल बनाएपछि कुन मितिमा नेपाली फिल्म चलाउने रु’ हिन्दी फिल्मले घोषणा गरेको प्रदर्शन मिति हेर्ने हो भने तिहारपछि नेपाली फिल्मलाई डेट पाउनै गाह्रो हुनेछ । यतिबेला हलमा फिल्म प्रदर्शन गर्न भागाभाग भएका नेपाली निर्माताहरु बलिउड फिल्म रिलिज हुन थालेपछि पनि भागाभाग हुने निश्चित छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*