म्यूजिक भिडियोप्रति साम्राज्ञीको मोह
अचेल कलाकारहरुलाई म्यूजिक भिडियो आम्दानीको बलियो स्रोत बनेको छ । आकर्षक पारिश्रमिक पाइने, एकै दिनमा छायांकन सकिने र प्रचारमा पनि हिँड्नु नपर्ने काइदाका कारण यसप्रति कलाकारको मोह बढ्दो छ । कोरोनाकालमा फिल्मको काम नहुँदा प्रायःले म्यूजिक भिडियोमै आफूलाई व्यस्त राखे । म्यूजिक भिडियोमा फिल्मका कलाकारहरुको निकै राम्रो माग हुने गरेको छ ।
नेपाली फिल्मकी डिमान्डेड र महंगी अभिनेत्रीमध्ये एक साम्राज्ञी आरएल शाह पनि म्यूजिक भिडियोबाट अछुतो छैनन् । तर, उनी म्यूजिक भिडियो छनोटमा एकदमै चुजी मानिन्छिन् । उनलाई फिल्मभन्दा ज्यादा म्यूजिक भिडियोबाट अफर हुने गरेको भए पनि उनले आजसम्म दुइटा मात्र भिडियोमा अभिनय गरेकी छन् । अब उनी तेस्रो पटक म्यूजिक भिडियोमा काम गर्ने तयारीमा छिन् ।
‘बागमती र एउटा यस्तो प्रेम कहानी’ फिल्मका निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका छोराहरु देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले म्यूजिक भिडियोमा स्क्रिन शेयर गर्न लागेकी हुन् । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् । दशैंको छेकोमा गीतको भिडियो सार्वजनिक हुनेछ ।
गायक विश्व नेपाली र गायिका अस्मिता परियारको युगल स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा कोरियोग्राफी माईकल चन्दको रहनेछ । यो गीतको भिडियोमा अभिनय गर्न साम्राज्ञीले अहिलेका चल्तीका मोडलभन्दा २ गुणा बढी पारिश्रमिक बुझेको जानकारी प्राप्त छ ।
साम्राज्ञीले पहिलो लकडाउनपछि अभिनेता पुष्प खड्कासँग फिल्म ‘तिम्रो मेरो साथ’ मा काम गरेकी थिइन् । दशैंपछि उनी कपिल रिजालको निर्देशनमा बन्न लागेको एक अनटाइटल फिल्मको छायांकनमा व्यस्त हुँँदैछिन् । यसमा उनको जोडी हाँस्य कलाकार जितु नेपाल रहनेछन् । योसँगै उनको पाइपलाइनमा निर्देशकहरु मिलन चाम्स, प्रवेश पौडेल र हेमराज विसीको फिल्म पनि छ । फिल्मीखबरबाट







