आकाशसँग सुध्रियो मिलन चाम्सको सम्बन्ध

जनपत्र
८ आश्विन २०७८, शुक्रबार ०६:३७

फिल्म क्षेत्रमा दुश्मनी र मित्रता दिगो हुँदैन भन्ने गरिन्छ । वर्षौदेखिको मित्रता दुश्मनीमा बदलिएको र दुश्मनी क्षणभरमै मित्रतामा बदलिएका यहाँ कयौं उदाहरण छन् । अभिनेता आकाश श्रेष्ठ र निर्देशक मिलन चाम्सबीच पनि केही समय अगाडिसम्म ‘पानी बारबार’ को सम्बन्ध थियो । आकाशले फिल्म ‘वीर विक्रम २’ बाट हात झिकेपछि मिलन उनको नाम समेत सुन्न चाहँदैन थिए ।

आकाशले सामाजिक सञ्जालमार्फत हजुरबुबा विरामी भएकाले फिल्ममा काम गर्न नसकेको जानकारी दिएका थिए । तर, उनले यो फिल्म छाडेको एक हप्तामै अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’ साइन गरे । यसपछि थाहा भयो उनले ‘वीर विक्रम २’ छाड्नुको कारण हजुरबुबा विरामी हुनु मात्रै थिएन । उनले काम नगर्ने निर्णय गरेपछि रातारात फिल्ममा पल शाहको प्रवेश भएको थियो ।

फिल्मको गीत सार्वजनिक कार्यक्रममा निर्देशक चाम्सले आकाशप्रति लक्षित गर्दै नेपाली फिल्म क्षेत्रमा राजनीति धेरै नै हुने गरेको बताएका थिए । त्यसयता उनले आकाशसँँग फिल्ममा मात्र होइन म्यूजिक भिडियोमा समेत सहकार्य गरेका थिएनन् । तर, पछिल्लो समय सम्बन्ध विग्रिएका हरेकसँग सुमधुर सम्बन्ध बनाउँँदै आएका निर्देशक चाम्सको आकाश श्रेष्ठसँँग पनि सम्बन्ध सुध्रिएको छ ।

गायक रवि गहतराजको स्वरमा रहेको एक गीतको छायांकनका लागि आकाशलाई लिएर मिलन भारतको सिक्किम पुगेका छन् । अहिले सिक्किमका रमणीय स्थानमा गीतको छायांकन भइरहेको छ । भिडियोमा आकाशलाई आर्मीको भूमिकामा देख्न पाइनेछ । मिलनले आकाशसँँग मात्र होइन ‘लिलिबिली’ पछि ‘पानी बारबार’ को सम्बन्ध रहेको प्रदीप खड्कासँग पनि सम्बन्ध सुधारेका छन् । फिल्मी खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*