‘डाँडाको वरपीपल’ गीतमा शिव, भुवन र गौरीको ठुम्का
एक समयका सफल निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ को यही असोज २६ गते ९घटस्थापना० लाई प्रदर्शन मिति घोषणा गर्दै पहिलो गीत सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ‘काट्दिम्ला जुँगा जम्मै’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा स्वर्गीय खेमराज गुरुङ र गायिका रिमा गुरुङ होडाको स्वर रहेको छ ।
उमंग लामा र केशव चौलागाईंको शब्द रचना, उमंग लामाको संगीत रहेको गीतको भिडियोमा अघिल्लो पुस्ताका तीन सुपरस्टार शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लले एकसाथ ठुम्का लगाएका छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत लगायतको पनि नृत्य छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ ।
चित्लाङ वरपर छायांकन भएको यस फिल्ममा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ । नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ ।
यो फिल्ममा शिव श्रेष्ठ र भुवन केसीले १६ वर्षपछि एकसाथ फिल्ममा काम गरेका हुन् । उनीहरुले पछिल्लो पटक २००५ मा रिलिज भएको शोभित बस्नेत निर्देशित फिल्म ‘राजु राजा राम’ मा सँगै काम गरेका थिए । त्यस्तै, शिव श्रेष्ठ र गौरी मल्लले २० वर्षपछि एकसाथ काम गरेका हुन् । यसकारण पनि यो फिल्म दर्शकमाझ प्रतिक्षित छ । फिल्मको अब काठमाडौं छायांकन मात्र बाँकी छ । फिल्मीखबरबाट
गीत हेर्नुहोस् :
https://www.youtube.com/watch?v=_ii5mcR8k4U







