सुदर्शनको टीकाटालोमा किन गइनन् पूजा ?
मंगलवार आफ्नो जन्मदिनको अवसर पारेर निर्देशक सुदर्शन थापाले प्रेमिका सुप्रिया कटुवालसँग औँठी साटासाट गरे । आउँदो असोज २२ गतेलाई उनीहरुको विवाहको लगन जुरेको छ । काठमाडौंको पाँचतारे होटल र्याडिसनमा भएको इन्गेजमेन्ट समारोहमा दुई पक्षका सीमित परिवारसँगै सुदर्शन र सुप्रियाका अत्यन्त नजिकका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
उनीहरुको इन्गेजमेन्टमा वर्षा सिवाकोटी र राज कटुवाल सहभागी भएका थिए । उनीहरुलाई केटी पक्षको तर्फबाट निमन्त्रणा पुगेको जानकारी प्राप्त छ । सुप्रिया राजकै गाडीमा चढेर होटल पुगेकी थिइन् । राजको निर्देशक थापासँग पनि निकै राम्रो सम्बन्ध छ । बुझिए अनुसार, सुप्रिया र सुदर्शनको चिनजान नै राजको माध्यमबाट भएको थियो । यो कुरा करीब एक वर्ष अगाडिको हो ।
सुदर्शन र सुप्रिया एकअर्काको प्रेममा रहेको नजिकबाट थाहा पाउने अभिनेत्री पूजा शर्मा पनि हुन् । केही वर्ष अगाडिसम्म उनको नाम सुदर्शनसँग जोडिने गरेको थियो । ‘प्रेमगीत’ पछि सुदर्शनले पूजा विना फिल्म नै बनाएका छैनन् । यसले गर्दा पनि उनीहरुको प्रेम चर्चा लामो समय चल्यो । तर, यो जोडीले आफूहरुबीच व्यवसायिक सम्बन्ध मात्र कायम रहेको बताउन कहिल्यै छाडेन ।
सुदर्शनले आफ्नो टीकाटालोमा पूजालाई बोलाउने र पूजा सात समुन्द्र पारी भए पनि उपस्थित हुने धेरैको आँकलन थियो । तर, त्यसो केही भएन । उनलाई इन्गेजमेन्टमा सहभागी हुन निमन्त्रणा नै नपुगेको स्रोत बताउँछ । इन्गेजमेन्टको अघिल्लो दिनसम्म पनि निम्तो नआएपछि पूजाले आफू म्यूजिक भिडियोको छायांकनका लागि सोमबार काठमाडौं बाहिर जान लागेको बताएकी थिइन् ।
उनले सुदर्शनको इन्गेजमेन्टको दिन म्यूजिक भिडियोको छायांकनका लागि आफू काठमाडौं बाहिर हुने कुरा सत्य बोलेकी थिइन् । गायक शिव परियारको एक रोमान्टिक गीतमा उनले अभिनय गर्दैछिन्, जुन काठमाडौं बाहिर खिचिँदैछ । तर, सुदर्शनको इन्गेजमेन्ट हुने दिन नै उनले आफू गीतको सुटिङका लागि काठमाडौं बाहिर जान लागेको भन्नु सजिलै पत्याइहाल्ने कुरा थिएन ।
सुदर्शनले टीकाटालोमा नबोलाएपछि उनी सुटिङको बहानामा काठमाडौंभन्दा बाहिर निस्कन खोजेकी थिइन । किनकि, उनी काठमाडौंमै भएर इन्गेजमेन्टमा नगएको भए मिडियामा अर्को गसिप बन्थ्यो । यसबाट बच्नका लागि उनलाई सुटिङको बहाना बनाउनु सजिलो थियो । तर, सोमवार गीतको सुटिङ सुरु हुन सकेन । अर्थात, पूजा सुदर्शनको इन्गेजमेन्टको दिन घरमै थिइन् ।
इन्गेजमेन्टको साँझ सुदर्शनले आफ्नो जन्मदिनको केक समेत काटेका थिए । त्यो विशेष पल उनलाई सुप्रिया, राज र वर्षाले साथ दिए तर पूजा शर्मा उपस्थित थिइनन् । उनलाई सुदर्शनको इन्गेजमेन्टको मात्र होइन, बर्थडे सेलिब्रेसनको समेत निम्तो नभएको स्रोतको भनाई छ । यसको असर अब पूजा र सुदर्शनको व्यक्तिगतसँगै व्यवसायिक सम्बन्धमा पर्न सक्ने कतिपयको तर्क छ ।
पूजा र वर्षाको पानी बाराबार !
गत महिनासम्म पूजा शर्मा र वर्षा सिवाकोटीको मित्रता सामाजिक सञ्जालमा खुब देख्न पाइन्थ्यो । उनीहरु क्लबदेखि पारिवारिक भेटघाटमा समेत एकसाथ हुन्थे । आफूहरु जस्तो मिल्ने साथी अरु नभएको झैँ गरेर उनीहरुले हरेक दिन सामाजिक सञ्जालमा एकअर्कासँगको तस्बिर पोस्ट गरिरहेका हुन्थे । यो देख्दा लाग्थ्यो, उनीहरुबीच साथीभन्दा पनि दिदी(बहिनीको सम्बन्ध बनेको छ ।
तर, फिल्म क्षेत्रमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने गरिन्छ । पूजा र वर्षाको मित्रता पनि स्थायी हुन सकेन । अहिले उनीहरुबीच पानी बाराबारको सम्बन्ध छ । केही समयदेखि न उनीहरुबीच प्रत्यक्ष भेटभाट भएको छ न त बोलचाल नै । पूजालाई सुदर्शन थापाको इन्गेजमेन्ट समारोहमा सहभागी हुनका लागि निमन्त्रणा कार्ड नपुग्नुको एउटा कारण धेरैले वर्षा सिवाकोटीलाई पनि मानेका छन् ।
गत वर्षको दशैंपछि वर्षा र पूजाबीच हिमचिम बढेको थियो । यसैक्रममा वर्षाको भेट राज कटुवालसँग भयो । राज र पूजा एकदमै मिल्ने साथी हुन् । पूजासँग भेट्ने क्रममा राज वर्षासँग नजिक भएका थिए । अहिले उनीहरु गहिरो प्रेममा रहेको चर्चा छ । उनीहरुबीच प्रेम अंकुराएको बेलादेखिको साक्षी पूजा हुन् । तर, अहिले वर्षासँगै राजसँँग पनि पूजाको् सम्बन्ध विग्रिएको चर्चा छ ।
यसै महिना राज र वर्षा अभिनीत ‘म यस्तो गीत गाउँछु’ गीत सार्वजनिक भएको थियो । यो गीत पहिला फिल्म ‘म यस्तो गाीत गाउँछु २’ मा राखिने कुरा थियो । तर, पछि फिल्ममा अटेन । जब यो गीतको म्यूजिक भिडियो बन्ने कुरा आयो तब पूजाले अभिनय गर्ने इच्छा देखाएकी थिइन् । तर, राज र वर्षाले सुटुक्क गीतमा काम गरे । त्यसपछि उनीहरुबीच पानी बाराबार भएको बताइन्छ । फिल्मीखबरबाट







