प्रदर्शनको मुखमा आएर अड्किएका सिनेमा प्रदर्शन होलान् ?
प्रेमगीत-३, म यस्तो गीत गाउँछु-२, चपली हाइट-३ जस्ता केही प्रतीक्षित चलचित्र थिए, जसले प्रदर्शन मिति तय गरिसकेका थिए । छायांकन, सम्पादनका सम्पूर्ण काम सिध्याएर प्रचार-प्रसारको तारतम्य पनि मिलाइसकेका थिए ।
तर, कोरोना महाव्याधिले नसोचेको झट्का दियो । प्रदर्शनको मुखमै आएर सिनेमाहरू रोकिए । अब के गर्ने ? सिनेमाकर्मी अन्योलको भुमरीमा गुम्सिए ।
फागुनको २३ गते । यदि ‘बाघी’ नामक हिन्दी चलचित्र रिलिज नभएको भए शायद नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुन्थ्यो होला । तर, हिन्दी चलचित्रका कारण निर्देशक तथा निर्माता सुदर्शन थापाले चलचित्रको प्रदर्शन मिति फागुन ३० गतेसम्म धकेले ।
विडम्बना । फागुनको २३ गते । चलचित्रको अन्तिम प्रचारका लागि मोफसल दौडमा रहेको समयमा सुदर्शनले विज्ञप्ति मार्फत चलचित्र अनिश्चितकालका लागि पछि सरेको जानकारी दर्शकलाई दिनुपर्यो । यो समयमा नेपालमा पनि कोरोनाको त्रास बढिसकेको थियो । हिन्दी चलचित्र ‘बाघी’ हेर्न नै दर्शकले हलसम्म जान रुचि नदेखाएपछि धमाधम नेपाली चलचित्रको मिति पछि सर्यो । यसको मारमा सबैभन्दा बढी सुदर्शन थापा परे । किनकि, उनले प्रचारका लागि सबै काम सकिसकेका थिए ।
यसपछि, चैत ७ गतेलाई प्रदर्शन मिति तोकिएको ‘निरफूल’, चैत २१ गतेलाई प्रदर्शन मिति तोकिएको ‘लक्का जवान’, चैत २८ गतेलाई प्रदर्शन मिति तोकिएको ‘प्रेमगीत ३ र चपली हाइट ३’ को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित भयो । वैशाखमा चलचित्र ‘हिजोआजका कुरा’को पनि प्रदर्शन मिति तय गरिएको थियो । यो चलचित्रको प्रदर्शन पनि लकडाउन भएपछि हुन सकेन ।
धमाधम प्रदर्शन मिति तोकिएका चलचित्र अनिश्चितकालका लागि पछि सर्दा निर्माताको करोडौं रकम फ्रिज भयो । डेढ वर्ष भइसक्दा पनि यी चलचित्र रिलिज हुनसकेका छैनन् । यसले, निर्मातामा तनाव त थपिदिएको छ नै, साथमा अर्को प्रोजेक्ट शुरू गर्नका लागि जोश पनि आउन सकेको छैन ।
पहिलो चरणको लकडाउन सकिएपछि धमाधम केही चलचित्रको छायांकन भयो । ती चलचित्रका निर्माताले प्रदर्शन मिति तय गर्दै काम सम्पन्न गरे । तर, वैशाखबाट फेरि निषेधाज्ञा भएपछि छायांकन भएका दर्जनौं चलचित्रको प्रदर्शन कहिले हुन्छ भन्न सकिने अवस्था छैन ।
जिल्ला प्रशासन कार्यलय, काठमाडौंले बिहीबारबाट हल खुल्न दिने निर्णय गरेको छ । चार महीना भन्दा लामो समय बन्द रहेका हलहरू अब विस्तारै खुल्ने क्रममा छन् । चलचित्र क्षेत्रको अवस्था फेरि पुरानै गतिमा चाँडै फर्किन्छ भन्नेमा चलचित्रकर्मीहरू आशावादी छन् ।
हल खुल्ने निर्णयसँगै खुशीले भरिएका चलचित्रकर्मीको अनुहार र स्टाटसले पनि उनीहरू चलचित्र क्षेत्र सुचारु कहिले हुन्छ भन्ने प्रतीक्षामा कतिसम्म आतुर छन् भन्ने बुझाउँछ ।
तर, हल खुल्ने वित्तिकै के अब कोभिडको महामारी अगाडि प्रदर्शन मिति तोकेर पनि अड्किएका चलचित्रहरू प्रदर्शनमा आउलान् त ? के केही समयभित्र नै चलचित्र रिलिज गर्न निर्माताहरू तयार होलान् त ?
२०७६ साल चैत २८ गते चलचित्र रिलिजका लागि मिति तोके पनि कोभिडका कारण अन्तिम समयमा निर्माता अर्जुन कुमारले चपली हाइट-३ को प्रदर्शन मिति स्थगित गरेका थिए । उनै, अर्जुन अब भने आफूले चलचित्र रिलिजको सोच बनाएको बताउँछन् । उनले भने- ‘अब कोभिड बढेन र लकडाउन पनि भएन भने तिहारमा चलचित्र रिलिज गर्ने सोच बनाइरहेको छु । केही साता हेरौं, यसपछि म प्रदर्शन मिति सार्वजनिक गर्छु ।’
अर्जुनले, जग्गा भए पो भाउ बढ्छ भनेर राख्दा पनि हुने भन्दै चलचित्रको मूल्य नबढ्ने भएकाले अब रिलिज गर्नुपर्ने बताए । भने- ‘यो चलचित्र तिहारमा रिलिज गरेर तिहारपछि गोरे सार्कीको छायांकन शुरू गर्ने योजना छ ।’
डेढ करोड बजेटमा बनेको यो चलचित्र डेढ वर्ष नै अड्किंदा आफूलाई ठूलो घाटा लागेको अर्जुन बताउँछन् । उनका अनुसार, डेढ करोड रकम अन्य कतै लगाएको भए लाखौं आम्दानी भइसक्थ्यो । तर, चलचित्रमा लगाएर पूरै फ्रिज भएको उनको भनाइ छ ।
‘सेफ ल्याण्डिङ हुन्छ भने रिलिजका लागि तयार छु’ : सुदर्शन थापा
चलचित्र ‘म यस्तो गीत गाउँछु-२’का निर्माता तथा निर्देशक सुदर्शन थापाले तत्काल चलचित्र रिलिज गर्ने आफूमा कुनै सोच नभएको बताए । कोभिडका कारण सबैभन्दा ठूलो मारमा यो चलचित्र परेको छ । चलचित्रको सम्पूर्ण प्रचार समेत सकेको यो चलचित्र रिलिजको एक साता अगाडि मात्र पोष्टपोन्ड भएको थियो । सुदर्शन भन्छन्, ‘तत्काल आँट गर्न सक्ने कुनै अवस्था नै छैन नि Û साढे २ करोड डुब्यो भने त म आफैं पनि सडकमा आउँछु । अहिलेको माहोल हेर्दा तत्काल चलचित्र रिलिज गर्ने खालको पनि छैन ।’
थापाले वितरक र प्रदर्शक मिलेर सेफ ल्याण्डिङको बाटो खोजिदिने हो भने आफू चलचित्र रिलिजको लागि तयार भएको बताए । उनले भने-‘मलाई अहिले नाफा पनि चाहिएन । साढे २ करोड रुपैयाँ मात्र सुरक्षित हुन्छ भने पनि म चलचित्र रिलिज गर्न तयार छु । यो चलचित्र रिलिज गर्न पाएको खण्डमा म अर्को चलचित्र बनाउनतर्फ लाग्थें । यसले, हलले फेरि अर्को नयाँ राम्रो चलचित्र पाउनेथियो ।’
थापाले, देशभरका प्रत्येक हलबाट उसको क्षमता अनुसार २-३ लाख रुपैयाँ एउटा आशातित चलचित्रमाथि लगानी गर्दा घाटा नहुने समेत बताए । भने- ‘एउटा निर्माताले साढे २ करोडको जोखिम लिन सक्छ भने, हल व्यवसायीहरूले पनि २-३ लाखको जोखिम लिंदा के हुन्छ ? नाफा भयो भने त आखिर हललाई पनि हुने नै हो Û’







