छायांकनमा निस्कियो शिव श्रेष्ठको ‘डाँडाको बरपीपल’
कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै गत बैशाखबाट पूर्ण रुपमा ठप्प रहेको फिल्म क्षेत्र अझै खुल्ने छाँटकाँट देखिएको छैन । कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले संक्रमण दर १५ प्रतिशतमा झरेपछि मात्र सिनेमा हल लगायतका मनोरञ्जन क्षेत्र खुलाउन अनुमति दिने कार्यविधि तयार पारेपछि दशैंअघि फिल्म क्षेत्रका गतिविधि सुचारु हुने सम्भावना अत्यन्त न्यून देखिएको छ ।
सरकारले छायांकन अनुमति नदिए पनि फिल्म निर्माण भने रोकिएको छैन । गत असार अन्तिममा फिल्म ‘लाइफ इन एलए’ को छायांकन सकियो । गएको बुधवार फिल्म ‘आँधी तुफान २’ ले पनि एक महिनाको सेड्युलमा छायांकन पुरा गर्यो । यसबीच, सोमवारबाट फिल्म ‘डाँडाको बरपीपल’ को छायांकन सुरु भएको छ । धादिङको धार्केबाट फिल्मको छायांकन थालिएको हो ।
६० दिनको छायांकन सेड्युलमा काठमाडौं र चित्लाङमा फिल्म खिचिनेछ । शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायत मुख्य भूमिकामा छन् ।
बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी छ । फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, शिव मुखियारएलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईररामजी लामिछानेको नृत्य निर्देशन, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।
शिव श्रेष्ठ र भुवन केसीले १६ वर्षपछि एकसाथ फिल्ममा काम गर्न लागेका हुन् । २००५ मा रिलिज भएको शोभित बस्नेत निर्देशित सुपरहिट फिल्म ‘राजु राजा राम’ पछि उनीहरुले एकसाथ काम गरेका थिएनन् । १६ वर्षपछि शोभितले नै दुई सुपरस्टारलाई एकसाथ पर्दामा उतार्न लागेका हुन् । त्यस्तै, यो फिल्ममा गौरी मल्ल र शिव श्रेष्ठले करीब २० वर्षपछि एकसाथ काम गरेका छन् । फिल्मीखबरबाट







