‘म राजेश हमाल’ मा आर्यन सिग्देल अनुबन्ध

जनपत्र
४ भाद्र २०७८, शुक्रबार ०६:२०

सुपरस्टार राजेश हमालको नाममा निर्माण हुन लागेको फिल्म ‘म राजेश हमाल’ मा अभिनेता आर्यन सिग्देल अनुबन्ध भएका छन् । निर्माण टिमले मंगलवार उनीसँग कागजी सम्झौता गरेको हो । फिल्ममा उनको केमियो भूमिका हुनेछ । आर्यनले राजेश हमालको सम्मानका लागि फिल्ममा काम गर्न लागेको बताइएको छ । उनले हमालसँग फिल्म ‘मौसम र सपना’ मा सँगै काम गरेका थिए ।
निर्माता केदार भुषालले फिल्ममा केमियो भूमिकाका लागि राजेश हमाललाई पनि अफर गरेका छन् । तर, अहिलेसम्म उनले फिल्ममा अभिनय गर्ने वा नगर्ने विषयमा कुनै निर्णय दिएका छैनन् । उनले फिल्मको नामको विषयमा पनि आफ्नो निधो दिन बाँकी छ । तथापी, राजेश हमालसँग फिल्ममा नाम प्रयोग गर्ने विषयमा मौखिक सहमति भइरहेको निर्माता भुषालले जानकारी दिए ।
विक्रम लामाले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछानेको अभिनय रहनेछ । राजेश हमालको नाममा ‘म राजेश हमाल’ बन्न लागे पनि उनको जीवनीमा फिल्म आधारित हुने छैन । निर्माण टिमले उनको सम्मानका लागि फिल्म बनाउन लागेको हो । भदौ २० गते धनगडीबाट फिल्मको सुटिङ सुरु हुँदैछ ।
राजेश हमालको नाममाथि यसअघि पनि एक फिल्म निर्माण भएको थियो । सन् २०११ मा ‘मेरो राजेश दाइ’ नाममा फिल्म बनेको थियो । यसमा उनी आफैं मुख्य भूमिकामा थिए भने उनको भाईको भूमिका उनका डेब्लिकेटको रुपमा चिनिने शित्तल केसीले अभिनय गरेका थिए । तर, फिल्म असफल भयो । एकपटक फेरि उनको नाममा फिल्म बनाउने जोखिम उठाउन लागिएको छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*