जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो
जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा एक अंकको फरकले सुन्दरबजार नगरपालिकाको समूहलाई हराउँदै आयोजक समूह पहिलो भएको हो ।
जम्मा १२ समूहले भाग लिएको उक्त लोकदोहोरी प्रतियोगिताको फाइनल चरणमा आयोजक टिमका तर्फबाट सचिव प्रशान्त तामाङ र सदस्य प्रीति आलेले नेतृत्व गरेका थिए । त्यस्तै, सुन्दरबजार नगरपालिकातर्फको टिममा पार्वती आले र विनोद धितालले गायन टोलीको नेतृत्व गरेका थिए ।
उक्त प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल संयोजक रहेको निर्णायक मण्डलमा उक्त प्रतिष्ठानका केन्द्रीय सदस्य तारानाथ आचार्य, प्रतिष्ठानको गण्डकी प्रदेशका सचिव राजकुमार कार्की र प्रतिष्ठानको जिल्ला शाखा लमजुङका निवर्तमान अध्यक्ष दीपक पौडेल सदस्य रहेका थिए । निर्णायक समितिका संयोजक दाहालले निर्णय सुनाउँदै आफूहरूले राम्र्रै राम्रोका बीचमा नराम्रो खोजेर मूल्यांकन गरी नतिजा तयार गरेको बताए ।
उक्त अवसरमा अग्रज गायिका माया गुरुङ र चर्चित राष्ट्रिय गायक राजन परियारले ठाडोभाकाको दमदार प्रस्तुति गरेका थिए । त्यसैगरी कार्यक्रमको बीचबीचमा विभिन्न नृत्य प्रदर्शन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले लोक संस्कृति र राष्ट्रियता एक अर्काका पूरक भएको बताउँदै यस्ता मौलिक वस्तुको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो भन्दै कार्यक्रम उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका जिल्ला अध्यक्ष अनुज अधिकारीले कार्यक्रमबारे प्रकाश पारे ।







