नेकपाका नेताहरु नै संविधान विपरीत कार्यमा सक्रिय- नेता आचार्य
सत्तारुढ दल नेकपाका नेताहरु नै संविधान विपरीत क्रियाकलापमा सक्रिय रहेको नेपाली कांग्रेसका नेता महेश आचार्यले आरोप लगाएका छन्। सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ५ औं स्मृति दिवसका क्रममा विराटनगरमा आयोजित कार्यक्रममा नेता आचार्यले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल पक्ष नै संविधान विपरीतका क्रियाकलापमा लागेको बताएका हुन्।
संविधान विपरीत प्रधानमन्त्री ओली र असन्तुष्ट पक्ष दाहाल र नेपाल समान रुपमा उत्तिकै दोषी भएको बताउँदै नेता आचार्यले प्रतिपक्षी दल कांग्रेस कसैको पक्षधर बन्न नहुनेमा जोड दिए। उनले नेकपाको पक्षमा नगई कांग्रेस एकल रुपमा जनतामाझ जानुपर्ने सुझाव दिए। विगतमा प्रधानमन्त्री ओलीले पटकपटक संविधान विपरीत कार्य गर्दा नबोलेका पुष्पकमल दाहाल आन्दोलनको नाममा हिंस्रक बन्दै गएको उनको भनाई छ। आन्तरिक विवादका कारण दलभित्रको तिक्ततासंगै नेकपा हिंस्रक बन्दै गएपनि कांग्रेस हिंसात्मक आन्दोलनमा उत्रन नहुनेमा उनले जोड दिए।
त्यसैगरि, कार्यक्रममा नेता आचार्यले नेपालको संविधान २०७२ का अभियान्ता सुशील कोइरालाको सादगी जीवन र देशको प्राथमिकता प्रति असाधारण प्रतिबद्धताको युवाहरूले अनुशरण गर्नुपर्ने बताएका थिए। आचार्यले कोइरालाको असाधारण प्रतिबद्धताकै कारण नयाँ संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित भएको उल्लेख गरे। साधारण जीवनशैली र पार्टीभित्रको विवादको तिक्तता हटाउन सफल नेता कोइरालाको क्षमताकै कारण कांग्रेसले दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बन्न सफल भएको नेता अचार्यले स्मरण गरेका थिए।







