‘उधारी हैन नगदी अध्यक्ष’को अन्तरघाती खेलले गर्दा आज देश गम्भीर संकटमा : प्रभु साह

जनपत्र
११ माघ २०७७, आईतवार ०६:४३

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं शहरी विकासमन्त्री प्रभु साहले केही नेताको उधारो नभई नगदी अध्यक्ष पदको ख्वाब र प्रधानमन्त्री बन्ने लालसाका कारण देशमा संकट निम्तिएको बताएका छन्।

शनिबार रौतहट सदरमुकाम गौरमा नेकपा क्षेत्रीय कमिटीद्वारा आयोजित रौतहट निर्वाचन क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष र प्रधानमन्त्री पदका लागि पार्टीलाई अन्तरघात गरी देशलाई नै संकटतर्फ धकेलेको आरोप लगाए। नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले चुनाव हारेर पनि प्रधानमन्त्री बन्न पछि नहट्ने, महाधिवेशनबाट पराजित भएर पनि अध्यक्ष बन्ने लालसा नछाड्ने, एकथरी प्रवृत्तिका नेताले निरन्तर पार्टी र सरकारको विरुद्ध षड्यन्त्र र जालझेल गरेर अस्थिरता मच्चाएको बताए।

देशमा स्थिरता नचाहनेहरूले चुनावबाट आफ्नो पत्ता साफ हुने डरले आत्तिएर निर्वाचन आयोग र स्वतन्त्र न्यायालयमाथि दबाब दिएर चुनाव हुन नदिन षड्यन्त्र गरेको नेता साहले बताए। ताजा जनादेशमार्फत् देशलाई अग्रगमनतर्फ लैजान वर्तमान सरकारले जुनसुकै हालतमा चुनाव गर्ने भन्दै नेता साहले चुनावको तयारीमा लाग्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिए।

“कसैलाई उधारो हैन नगदी अध्यक्ष पदको ख्वाबमा, कोही प्रधानमन्त्री पदको स्वार्थमा अन्तरघात माथि अन्तरघात गर्दै देशमा संकट निम्त्याए। यी अस्थिरतावादीहरूबाट देशलाई जोगाउन चुनाव घोषणा गरिएको हो,” नेता साहले भने, “आगामी बैशाख १७ र बैशाख २७ गते हुने चुनावबाट यस्ता अन्तरघातीलाई निस्तेज गर्नुपर्छ। कमरेडहरू चुनावको तयारीमा लाग्नुस्।” देखापढीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*