‘प्रचण्डले कू गर्न खोज्दा प्रधानमन्त्री ओलीले जोगाए’
खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कू गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएर देशलाई बचाएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा शनिबार बोल्दै उनले प्रचण्डमाथि संविधान र लोकतन्त्रमाथि कू गर्न खोजेको आरोप लगाए । प्रचण्डले कू गर्न खोजेपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा बिघटनका लागि कदम चालेको बताए ।
“प्रचण्डले पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीमाथि कू गर्नु खोज्नुभयो,” थापाले भने, “देशलाई कू को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओली चुनावको बाटोमा जानुभयो ।” चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए प्रतिगमनको बाटोमा देश जाने बताए । नेकपा चुनावको अभियानमा प्रवेश गरिसकेकाले यताउता नहुने उनको भनाई थियो । नेकपा चुनावी अभियानमा सक्रिय भएर सातैवटा प्रदेशमा सक्रिय भएको बताए । उनले भने, “धनगढीबाट विशाल जनसभा देखिसक्नुभयो ।” अब देशभर चुनावको लहर चल्दै गएको दाबी गरे ।
तपाईंले प्रचण्डलाई धोका दिएर जानुभयो नि भनी सोधिएको प्रश्नमा उनले आफूले जीवनमा कहिले कसैलाई धोका नदिएको बताए । उनले भने, “बरु प्रचण्डले समकालिन नेताहरुलाई धोका दिँदै आउनुभयो ।” उनले प्रधानमन्त्री ओलीमाथि पनि प्रचण्डले धोका दिएको आरोप लगाए । उनले भने, “प्रधानमन्त्री केपी ओलीलाई पनि प्रचण्डले धोका दिनुभएको छ ।” बाह्रखरीबाट







