मन्त्रिपरिषद् विस्तारपछि यस्तो बन्यो प्रधानमन्त्री ओलीको टिम
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । विस्तार गरेका मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएको पाइन्छ । तथापि ओलीको क्याविनेटमा यसअघि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकाले केहीले पनि स्थान पाएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारमा ८ मध्ये आफूलाई साथ दिने ५ जना पूर्वमाओवादी नेताहरुलाई समेटेका छन् । संसद् विघटनपछि ओलीलाई साथ दिएका रामबहादुर थापाको गृहमन्त्री पद कायमै छ । आफूलाई साथ दिएका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा तामाङलाई पनि प्रधानमन्त्री ओलीले मन्त्री बनाएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका टोपबहादुर रायमाझीले यसअघि पनि उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय सम्हालेका थिए । संविधान निर्माण लगत्तै विसं २०७२ मा वर्तमान प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा रायमाझीले सो मन्त्रालय सम्हाल्दा ऊर्जा, सङ्कटकालीन कार्ययोजना ल्याएर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा नयाँ आयामको शुरुआत गरेका थिए । कूल ९९ बुँदे सो कार्ययोजनाको आधारमा नै विद्युत्भार कटौतीलगायतका योजना अगाडि बढेका थिए । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित रायमाझी दोस्रो पटक ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।
शहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो । तीन पटक सांसद र संसदीय समितिको सभापति रहिसकेका साहले यसअघि नै कानून न्याय तथा संसदीय मामिला, भूमिसुधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बनेका छन्। यसअघि पनि उनले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
पहिलो पटक मन्त्रीको जिम्मेवारी पाउनेहरु
खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाले मणिचन्द्र थापा भने पहिलो पटक राजकीय जिम्मेवारीमा आएका हुन्। तत्कालीन नेकपा ‘माओवादी’ ले सञ्चालन गरेको जनयुद्धमा गीत सङ्गीतमार्फत योगदान गरेका नेता थापा नेकपा भित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी गणेशसिंह ठगुन्नाको काधमा आइपुगेको छ । दार्चुलाबाट राष्ट्रिय राजनीतिमा स्थापित ठगुन्नालाई कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको क्षेत्रको राम्रो ज्ञान रहेको छ ।डोटीका प्रेमबहादुर आलेले वन तथा वातावरणमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । नेकपाभित्र निडर नेताका रुपमा चिनिने आले वनसम्बन्धी विषयमा विवादित व्यक्ति हुन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि पहिलो पटक राजकीय जिम्मेवारी सम्हाल्न लागेकी छिन् । त्यस्तै युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी सम्हाल्न लाग्नुभएका दावा लामा पनि पहिलो पटक मन्त्रिपरिषद्मा समेटिएका छन्। विसं २०६४ को संविधानसभा सदस्य रहेका लामा २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा भने पराजित भएका थिए ।
जिम्मेवारी हेरफेर हुने र नहुनेहरु
त्यस्तै, ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनको जिम्मेवारीमा पठाइएको छ, हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने कानुनबाट शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयमा सारिएको छ । पद्मा अर्याललाई भने भूमिसुधारबाट कृषिमन्त्रीको जिम्मेवारीमा सारिएको छ । यता युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई भने जिम्मेवारीबाट मुक्त गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात बसन्त नेम्वाङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको मन्त्रालय भने यतावत छ । प्रधानमन्त्री ओली रक्षा मन्त्रालय भने अहिले पनि आफूसँगै राखेका छन् । असोज २८ गते प्रधानमन्त्रीओलीले मन्त्रीमण्डल हेरफेर गर्ने क्रममा रक्षा मन्त्रालय आफैसँग राखेका थिए । रक्षा मन्त्रालय सम्हालिरहेका ईश्वर पोखरेललाई उप्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिइएको छ। यस पनि पोखरेललाई सोही जिम्मेवारी दिइएको छ ।
पुनर्गठनपछिको मन्त्रीमण्डल
प्रधानमन्त्री, रक्षा मन्त्री – केपी शर्मा ओली
उपप्रधानमन्त्री – ईश्वर पोखरेल
गृहमन्त्री – रामबहादुर थापा बादल
परराष्ट्रमन्त्री – प्रदीपकुमार ज्ञवाली
अर्थमन्त्री – विष्णुप्रसाद पौडेल
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री – टोपबहादुर रायमाझी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री – लेखराज भट्ट
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री – विमला विक
कृषि तथा पशुपंक्षी विकास मन्त्री – पद्मा अर्याल
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री – लीलानाथ श्रेष्ठ
खानेपानी मन्त्री – मणिचन्द्र थापा
श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री – गौरीशंकर चौधरी
सञ्चार तथा सूचना प्रविधि मन्त्री – पार्वत गुरुङ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री – शिवमाया तुम्बाहाङ्फे
भौतिक पूर्वाधार तथा यातायात मन्त्री – बसन्तकुमार नेम्बाङ्ग
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री – जुलीकुमारी महतो
युवा तथा खेलकुद मन्त्री – दावा लामा
वन तथा वातावरण मन्त्री प्रेम आले
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री – कृष्ण गोपाल श्रेष्ठ
स्वास्थ्य तथा जनसंख्या मन्त्री – हृदयेश त्रिपाठी
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री – नवराज रावत
सहरी विकासमन्त्री – प्रभु शाह
सहरी विकास राज्यमन्त्री – रामवीर मानन्धर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री – भानुभक्त ढकाल
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री – गणेशसिंह ठगुन्ना
रातोपाटीबाट







