संसद विघटन बारे काँग्रेस बिभाजित, देउवा-पौडेलमा किन भयो चर्काचर्की ?

जनपत्र
९ पुष २०७७, बिहीबार ०५:५८

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने कदम चालेपछि तरंगित भएको देशको राजनीति र राजनीतिक दलहरु आआफ्नो भावी रणनीति बनाउन व्यस्त देखिन्छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ विभाजित भएको छ भने वैधानिक नेकपा पार्टीको कानुनी मान्यताको लडाई शुरु भएको छ ।

यसैबीच संसद विघटनपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा रोचक र नाटकीय मतहरु देखिएको छ । संसद विघटनको आक्रामक रुपमा प्रतिवाद गर्छ भन्ने सबैको अनुमान विपरित, काँग्रेसले बाहिर हरेक दिन जसो विरोधका विज्ञप्ति र बयान दिएपनि भित्री रुपमा दुई खेमामा विभाजित देखिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा पक्ष ओलीको कदमको समर्थनमा देखिएका छन् र निर्वाचनमा जानु पर्ने पक्षमा देखिएका छन् । यस अघि ओली-देउवाको अघोषित गठबन्धन रहेको भन्ने आरोप घटनाक्रमहरुले पुष्टि गर्दै गएका छन् । संबैधानिक परिषदको बैठकमा अनुपस्थित रहेर अनि देउवाले सिफारिस गरेका ११ जना विभिन्न संबैधानिक आयोगमा सिफारिश हुनु ओली-देउवा गठबन्धनको पछिल्लो प्रमाण देखिएको छ । त्यसैले देउवाले बाहिरी रुपमा संसद विघटनको विरोध गरेपनि उनी ओलीको कदमप्रति आक्रमण नहुने रणनितिमा लागेको प्रष्ट देखिएको छ ।

त्यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने अहिले चुनावमा जादा काँग्रेसलाई फाइदा हुने अवस्था रहेपनि समग्र व्यवस्थाको विषय भएकाले ओलीको कदमको आक्रामक रुपमा विरोध गर्नुपर्ने धारणा राखेका छन् । नेता पौडेलले संसद विघटनको विरोधमा रहेका दलहरुसँग एक ठाउमा गएर आन्दोलनको नेतृत्व नै गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

संसद विघटनकै बारेमा छलफल गर्न काँग्रेसले बोलाएको केन्द्रीय समितिको बैठकको प्रकृति हेर्दा पनि काँग्रेस नेतृत्व अहिले आलटाल गरेर सर्वोच्चको निर्णय पर्खेको सजिलै बुझ्न सकिन्छ । काँग्रेसको आलटाल मंगलबार र बुधबार दुई दिन बसेको बैठकमा अहिलेसम्म केबल ८ जनाले बोलेका छन् । हरेक दिन चार जनालाई मात्र बोल्ने दिने भन्दै काँग्रेसले केन्द्रीय समिती बैठक सर्वोच्चको निर्णय नआउन्जेल जारी राख्ने रणनिति देखिएको छ ।

देउवा-पौडेलबीच विवाद

संसद विघटनविरुद्ध कांग्रेस आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ । बुधबारको कार्यसमिति बैठकमा केहीबेर दुई नेताबीच विवाद नै भएको हो । केन्द्रीय समिति बैठक लम्बिने देखिएपछि नेता पौडेलले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने बताएका थिए । तर, सभापति देउवाले बारम्बार नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न नहुने बताएका थिए । त्यसैगरी देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने भन्दै संसद विघटनको मुद्धा सर्वोच्चमा पुगिसकेकाले फैसला नहुँदासम्म कांग्रेसले निर्णय गर्न नहुने धारणा बुधबारको बैठकमा राखेका थिए ।

तर देउवाको भनाईमाथि असहमति राख्दै नेता पौडेलले संसद विघटन गर्नु असवैधानिक भएकाले नेकपा फुट्नु र नफुट्नुमा कांग्रेसको कदम निर्भर हुन नहुने बताए । पौडेलले अब कांग्रेस सुतेर बस्न नहुने भन्दै देउवाको धारणाको आक्रामक रुपमा विरोध गरेका थिए । पौडेल आक्रामक भएपछि देउवा पक्षका नेताहरु सहमहामन्त्री डा। प्रकाशरण महत र केन्द्रीय सदस्य शंकर भण्डारीले पौडेलको विरोध गरेका थिए । नेताहरुबीच आरोप प्रत्यारोप हुदा बैठकको माहोल नै चर्काचर्की भएको थियो ।

तुरुन्त आन्दोलनमा जानुपर्छ : गगन थापा

जारी केन्द्रीय समिती बैठकमा बुधबार केन्द्रीय सदस्य गगन थापाले संसद विघटनविरुद्ध तुरुन्त आन्दोलनमा जानुपर्ने धारणा राखेका छन् । नेता थापाले काँग्रेसले सर्वोच्च अदालतले के भन्छ भनेर कुरेर बस्न नहुने भन्दै काँग्रेसले के भन्छ भनेर सर्वोच्चलाई सुनाउनु पर्ने बताए । उनले पार्टी पदाधिकारी बैठकले असंवैधानिक र अलोकतान्त्रिक भनेर ठहर गरिसकेकाले दायाँबायाँ नगरी सडक संघर्षमा जानुपर्ने बैठकमा बताएका थिए । नेता थापाले असंवैधानिक कदम नसच्चिएसम्म चुनाव गर्ने बाटो नखुल्ने विचार राखेका थिए ।

साथै बैठकमा थापाले सभापति देउवालाई प्रश्न गर्दै सिफारिस गरिएका हाम्रा मान्छेलाई त्यसलाई बहिष्कार गर्न भन्नु पर्ने बताएका थिए । उनले सिफारिश गरिएकालाई बहिष्कार गर्न नभने हामी जनतामा के मुख लिएर जाने रु भन्दै प्रश्न गरेका थिए । निष्कर्षमा काँग्रेसका नेताहरुले व्यक्त गरेको धारणालाई विश्लेषण गर्दा काँग्रेसले बाहिर आन्दोलन गर्ने भनेपनि भित्री रुपमा ओलीको कदमप्रति नत विरोध नत समर्थनको रणनीतिमा लागेको देखिन्छ । सभापति देउवाले बुधबारको बैठकमा सर्वोच्चको निर्णय पर्खिनु पर्ने धारणा नै काँग्रेसको अहिलेको लाइन भएको देखिएको छ ।

नेकपाका दुवै पक्ष आफ्नो वैधानिकताको लडाईमा भएकाले उनीहरु समर्थन र विरोधमा धेरै कार्यक्रम गर्ने स्थितिमा रहेका छैनन् । यस अघि काँग्रेस, नेकपा र जसपाको दुई पटक संयुक्त बैठक भएपनि अब एक ठाउमा रहेर विरोध कार्यक्रम हुने सम्भावना देखिएको छैन । जसपा एक्लैले विरोधका कार्यक्रम शुरु गरिसकेको छ भने काँग्रेसले पनि विहिबार विरोधका कार्यक्रम घोषणा गर्ने बताएको छ । खरिबोटबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*