मेसीले म्याराडोना पछ्याए, कुलत पछ्याएनन्
लियोनल मेसी नै त्यस्ता एकमात्र अर्जेन्टिनी खेलाडी रहे, जसलाई अर्को डिएगो म्याराडोना भन्न सकिनेछ । त्यसैले जतिबेला यी बार्सिलोना कप्तानले स्पेनी ला लिगाको खेलमा ओसासुनाविरुद्ध गोल गरे र त्यो म्याराडोनाप्रति समर्पित गरे, त्यसमा कुनै आश्चर्य रहेन । यी अर्जेन्टिनी दुई ठूला फुटबल स्टारको गुण र विशेषता भने फरक छन् ।
यिनीहरूबीच समानता उत्तिकै छन् । दुवैको नेवेल्स ओल्ड ब्वाइज र बार्सिलोनासँग सम्बन्ध छ । त्यसैले त्यो गोलपछि मेसीले बार्सिलोनाको जर्सी फुकाल्दा त्यसभित्र नेवेल्सको जर्सी थियो । रोसारियोको यो क्लबको जर्सी रातो र कालो धर्के थियो । यसक्रममा मेसी दुवै हात आकासतर्फ पनि फैलाए । सन् १९८६ मा म्याराडोनाले अर्जेन्टिनाका लागि विश्वकप जित्दा मेसीको जन्म भएको थियो ।
त्यो विश्वकप मेक्सिकोमा भएको थियो । सन् १९९३ मा म्याराडोनाले नेवेल्स स्टेडियममा डेब्यू गर्दा मेसी भने प्रशंसकका रूपमा त्यहीं थिए । जसरी मेसीले ओसासुनाविरुद्ध गोल गरे, म्याराडोनाले पनि त्यो दिन त्यसरी नै गोल गरेका थिए, बल हल्का अगाडि बढाएर कुना च्याप्दै प्रहार गरेको । त्यसो त मेसीले म्याराडोनाको शैलीलाई पछ्याएको यो नै पहिलोपल्ट होइन ।
सन् २००७ मा गेफाटेविरुद्ध गरेको गोल सन् १९८६ को विश्वकपमा म्याराडोनाले इंग्ल्यान्डविरुद्ध क्वाटरफाइनलमा गरेको दोस्रो गोलजस्तै थियो, ‘ह्यान्ड अफ गड’ को गोलपछि । मैदानको मध्यभागमा दुई खेलाडी छलाएपछि पोस्टतर्फ प्रहार गर्नु अगाडि फेरि थप खेलाडीलाई माथ ख्वाउने काम भएको थियो, सँगै छक्किने त गोलरक्षक पनि थिए ।
त्यही सिजन उनले ‘ह्यान्ड अफ गड’ जस्तै गोल गरे, स्पान्योलविरुद्ध बललाई हातले धकेल्दै । त्यतिबेला अर्जेन्टिनी कमेन्टेटरले भनेका थिए, ‘यो त म्याराडोनाले गरेजस्तै हो । पूरा घटना अहिले दोहोरिएको छ ।’ म्याराडोना र मेसी दुवै राम्रा पास निकाल्न माहिर छन्, तिनका पनि बायाँ खुट्टा बढी चल्ने गर्छ । यसलाई जादुयी बायाँ खुट्टाभन्दा पनि हुन्छ । म्याराडोनाको खेलजीवन निकै सफल रह्यो । उनी प्रायः मैदानबाहिरका खराब समाचारबाट पनि चर्चामा रहे । उनको दुर्व्यसनी बानीका बावजुत पनि अर्जेन्टिनामा उनलाई भगवान् जस्तै मान्ने गरिन्छ । त्यसैले जतिबेला उनको ६० वर्षको उमेरमा निधन भयो, कोभिड–१९ को पर्वाह नगरेर हजारौं प्रशंसक सडकमा निस्किए ।
मेसी यसको ठीक विपरीत पारिवारिक मान्छे रहेका छन् । सन् २०१७ मा आफ्ना बाल्यकालकी प्रेमिकासँग विवाह गरे । उनका तीन छोरा छन् । उनले अहिलेसम्म सामना गरेको सबैभन्दा ठूलो काण्ड भनेकै कर छलीको आरोपमात्र छ । जबकि म्याराडोनाले वर्षौंसम्म रक्सी सेवनमात्र गरेनन्, लागूपदार्थको दुर्व्यसनमै नराम्रोसँग बरालिए । यी दुईमध्ये सबैभन्दा उत्कृष्ट को त रु म्याराडोनाले ६ सय ७९ खेलमा ३ सय ४६ गोल गरे ।
यो देश र क्लबका लागि सबै प्रतियोगितामा गरेर हो । तर प्रतिबन्ध, खराब स्वास्थ्य र चोटका कारण म्याराडोनाले माथिल्लो स्तरमा आठ वर्षमात्र फुटबल खेले । सन् २००४ देखि आफ्नो व्यावसायिक खेल जीवन सुरु गरेका मेसीले ८ सय ५५ खेलमा ७ सय १२ गोल गरिसकेका छन् ।
उनी अहिले ३३ वर्षका भए, अझै उनले केही वर्ष मज्जाले खेल्नेछन् । उनी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने र सबैभन्दा बढी उपाधि जित्ने खेलाडी हुन् । उनले १० ला लिगा उपाधि जितिसकेका छन्, सँगै चार युरोपेली च्याम्पियन्स लिग उपाधि पनि । म्याराडोनाले कहिले पनि च्याम्पियन्स लिग जितेनन्, तर उनले साधारण नेपोलीलाई दुई अवसरमा इटालियन सिरी ए उपाधि दिलाए ।
यस्तै उनले एकपल्ट यूईएफए कप पनि हात पारे । सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा त उनको प्रदर्शन वास्तवमै जादुयी थियो । मेसी अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता पनि हुन्, तर उनी उपाधि जित्ने हकमा भने अभाग्यशाली रहेका छन्, सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित रहेको थियो ।
यस्तै कोपा अमेरिकाका दुई फाइनलमा पनि अर्जेन्टिना टाइब्रेकरमा पराजित रहेको छ । यसको निचोड सम्भवतः अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजको भनाइमा छ । उनी भन्थे, ‘म्याराडोना पक्कै पनि राम्रा खेलाडी हुन्, यसमा मेसी समर्थक रिसाउन आवश्यक छैन, किनभने उनीहरू दुई फरक समयका खेलाडी हुन् ।
म्याराडोनासामु १० अवरोध खडा गर्दा पनि उनले टिमलाई जिताउने थिए ।’ पूर्व खेलाडीका लागि भने यस्तै हो भनेर ठोकुवा गर्न गाह्रो छ । म्याराडोनाका साथी खेलाडी जोर्गे भाल्डानो भन्छन्, ‘म्याराडोना बढी कलात्मक छन्, मैदानमा संयमित पनि देखिन्छन् । मेसीले भने पक्कै बढी सफलता चाखेका छन् ।’ म्याराडोनासँग सेभियामा सँगै खेलेका अहिलेका एट्लेटिको म्याड्रिड प्रशिक्षक डिएगो सिमोनी भन्छन्, ‘दुईबीच तुलना ठीक छैन, उनीहरू फरक खाले खेलाडी हुन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।






