प्रिमियर लिग: लेस्टर सिटी फुलहामसँग घरमै पराजित, वेस्टह्यामले भिल्लालाई हरायो
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलहरुमा फुलहाम र वेस्टह्याम युनाइटेड विजयी भएका छन् । फुलहामले लेस्टर सिटी र वेस्टह्यामले एस्टन भिल्लालाई समान २-१ गोलअन्तरले हराएका हुन् । लेस्टर सिटीलाई उसैको मैदानमा पराजित गर्ने क्रममा फुलहामका एडेमोला लूकम्यान र इभान काभालेइरोले १-१ गोल गरे । लेस्टरका हार्वे बार्नसले सान्त्वना गोल फर्काए ।
खेलको ३०औं मिनेटमा लूकम्यान र ३८औं मिनेटमा काभालेइरोले पेनाल्टीमार्फत गोल गरेपछि फुलहामले पहिलो हाफमै २(० को अग्रता बनाएको थियो । त्यसपछि ८६औं मिनेटमा बार्नसले गोल फर्काउँदै लेस्टरको आशा जगाएपनि थप गोल भने हुन सकेन र लेस्टर नतिजा सुम्पन बाध्य भयो । योसँगै लगातार दोस्रो हार व्यहोरेको लेस्टर सिटी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा यथावत् छ भने फुलहाम ७ अंकसहित १७औं स्थानमा उक्लिएको छ ।
त्यसैगरी अर्को खेलमा वेस्ट ह्यामले घरेलु मैदानमा एस्टन भिल्लालाई २(१ ले हराएको हो । वेस्टह्यामका लागि एन्गलो ओगबोना र जारोड बवेनले १-१ गोल गरेका थिए । दोस्रो मिनेटमा नै ओगबोनाको गोलमार्फत वेस्टह्यामले अग्रता लिएको थियो । २५औं मिनेटमा भिल्लाका ज्याक ग्रिलिसले बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवाती मिनेटमै बवेनले गोल गरेपछि खेलमा पुनः वेस्टह्यामले अग्रता लिएको थियो । त्यसपछि भिल्लाले थप गोल गर्न नसक्दा खेल वेस्टह्यामले जित्यो ।
जीतसँगै १० खेलबाट १७ अंक जोडेको वेस्टह्याम पाँचौं स्थानमा उक्लिएको छ भने १५ अंक भएको एस्टनभिल्ला १०औं स्थानमा झरेको छ ।






