राफेल नाडाल एपीटीको सेमिफाइनलमा
राफेल नाडाल एटीपीको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रतिस्पर्धामा एटीपी २०१९ का विजेता स्टेफानोस सिटसिपासलाई पराजित गरेका हुन् । नाडालले स्टेफानोसलाई ६-४, ४-६ र ६-२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
२० पटकका ग्राण्डस्लाम विजेता नाडालले अब सेमिफाइनलमा रुसी खेलाडी ड्यानियल मेदभेदेवसँग शनिबार प्रतिस्पर्धा गर्दैछन् । ३४ वर्षीय नाडाल सन् २०१० र २०१३ मा एटीपीको फाइनल पुगेपनि उपाधि जित्न सकेका छैनन् । यसअघि बुधबार राति भएको खेलमा नोभाक जोकोविचलाई पराजित गर्दै डानिल मेड्भेडेभ एटीपीको सेमिफाइनल पुगेका छन् ।
विश्व नम्बर एक जोकोविचलाई चौथो वरियतामा रहेका मेड्भेडेभले ६-३, ६-३ को सोझो सेटमा पराजित गरेका थिए । यो पराजयसँगै जोकोविचले शुक्रबार हुने राउण्ड रोबिनको अन्तिम खेलमा एलेक्सान्डर स्वेरेभसँग प्रतिस्पर्धा गर्दैछन् । पाँचौ वरियताका स्वेरेभसमेत अन्तिम चारमा पुग्ने तयारीमा छन् । उनले डिएगो श्वार्ट्ज्मनलाई पराजित गर्दै अन्तिम चारमा पुग्ने सम्भावनालाई जीवितै राखेका छन् ।






