देउवाविरुद्ध पौडेल पक्षको हस्ताक्षर
कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक मामिलामा ध्रुवीकरण बढाएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्य समितिमा विरोधपत्र दर्ता गराउने तयारी गरेको छ ।
विरोधपत्र दर्तापश्चात् पनि निर्णय नसच्याए संघर्षका कार्यक्रममा उत्रने चेतावनी पौडेल पक्षको छ । नेतृत्वले लिएका विधानविपरीतका निर्णय, निर्देशन र गतिविधिका विवरण समावेश गरी पौडेल पक्षले तयार पारेको विरोधपत्रमा संस्थापन इतरपक्षीय केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरिरहेका छन् ।
ध्रुवीकरणको आडमा विधि, प्रक्रिया र कार्यविधि मिच्दै देउवाले महाधिवेशनबाट आफ्नै नेतृत्वलाई निरन्तरता दिन खोजेको निष्कर्ष पौडेल पक्षको छ । पौडेलपक्षीय केन्द्रीय सदस्य गुरु घिमिरेका अनुसार सबै केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित विधानविपरीतका निर्णय सच्याउन माग गर्दै छिट्टै विरोध दर्ता हुनेछ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र उनको पक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई समेत हस्ताक्षर गराउन पहल भइरहेकाले दर्ता गराउन ढिलाइ भएको उनले बताए । ‘पत्र तयार भइसकेको छ । नेताहरूले अहिले छलफल गरिरहनुभएको छ,’ उनले भने ।
यो अभियानमा सिटौला पक्षमा रहेका केन्द्रीय सदस्य गगनकुमार थापा र प्रदीप पौडेल सुरुदेखि नै संलग्न छन् । नेता सिटौलाले भने ‘रिजर्भेसन’ राख्दै आएका छन् । उनी संस्थापन र पौडेल पक्ष कतै जोडिन चाहेका छैनन् । मुद्दामा सहमति भए पनि हस्ताक्षर गरेर अघि बढ्दा पौडेल पक्षमा गएको सन्देश जान सक्ने सिटौलाको बुझाइ छ ।
पार्टीभित्र नयाँ ध्रुवीकरण र समीकरणका सम्भावनासमेत देखिरहेका सिटौलाले केही समयसम्म आफ्नो समूहलाई ‘इन्ट्याक्ट’ राखेर अघि बढ्न चाहेका छन् । उनलाई मनाउन थापा र अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले कोसिस गरिरहेका छन् । सिटौला मञ्जुर नभए थापा र पौडेलले समेत हस्ताक्षर नगर्ने सम्भावना छ ।
सिटौला पक्षमा रहेका केन्द्रीय सदस्य पौडेलले भने पार्टी विधानविपरीतका काम रोक्न सामूहिक दबाब नेतृत्वमा दिनुपर्ने बताए । ‘अहिलेकै तरिकाले आगामी फागुनमा मात्रै होइन, अर्को ६ महिनापछि पनि महाधिवेशन हुन सक्दैन । पार्टीमा समायोजनको कामसमेत गर्न नखोजेको जस्तो देखिएको छ । कुनै काम पनि अघि बढेको छैन,’ उनले भने, ‘समयमै दबाब नदिने हो भने पार्टी दुर्घटनामा पुग्ने सम्भावना छ ।’
पार्टी केन्द्रीय कार्यालयमा दर्ता गर्न ठिक्क पारिएको पत्रमा सिटौलासहित उनी पक्षीय केन्द्रीय सदस्यहरू थापा, पौडेल र उमाकान्त चौधरीको समेत नाम छ । झापामा रहेका सिटौला सहमत नभए पौडेल पक्षमा रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको मात्रै हस्ताक्षर गराएर पत्र दर्ता गराउने तयारी छ । केन्द्रीय कार्यसमितिमा पौडेल पक्षका पदाधिकारीसहित २७ जना छन् । यो समूहले उसले तत्कालीन सभापति सुशील कोइरालाले लिएको बाटो स्मरण गर्न देउवालाई आग्रह गरेको छ ।
कोइरालाले कार्यकालको तीन वर्षमा केन्द्रीय विभाग गठन गर्दा संस्थापनइतर पक्षमा रहेका देउवाले चर्को विरोध गरेका थिए । आफ्नो पक्षका केन्द्रीय सदस्यहरूलाई विभाग प्रमुखबाट राजीनामा दिन लगाएका थिए । पछि कोइरालाले निर्णय फिर्ता लिए ।
१३ औं महाधिवेशन अघि विधान, पद्धति र परम्पराको पालना गर्न आग्रह गर्दै देउवाले आफैं केन्द्रीय कार्यसमितिबाट राजीनामा दिनुका साथै रिले, आमरण अनशन र धर्नाका कार्यक्रम राखेका थिए । अहिले त्यही खालको विवाद पुनरावृत्ति भएको छ । ‘सभापतिज्यू, अरूमाथि आफैंले लागू गराएको नियम आफूमाथि चाहिँ लागू हुनुहुँदैन भन्ने अवधारणा र मान्यताले हामीलाई पार्टी–जीवनबाट अराजकतातिर धकेल्छ, लोकतन्त्रबाट च्युत गराएर भीडतन्त्रमा प्रवृत्त गराउँछ,’ कान्तिपुरलाई प्राप्त पौडेल पक्षको पत्रमा उल्लेख छ । कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले खबर लेखेका छन् ।







