लकडाउनमा पारिवारिक सद्भाव

विष्णुकुमारी लामिछाने
८ बैशाख २०७७, सोमबार ०९:३२

कोरोना भइरसको संक्रमणले यतिबेला विश्वलाई नै ठप्प पारेको छ ।यो समयमा अधिकांश गतिविधिहरु घरभित्रै सिमित भएका छन् ।परिवारका धेरैजना सदस्य घरभित्रै हुँदा पनि यो समयमा परिवारकै सदस्य र आफन्तहरुबाट यौनजन्य दुर्व्यवहार गरेका, घरेलु हिंसाका घटनाहरु बढेका र पारिवारिक मिलेमतोमा हत्या गरेका केही घटनाहरु पनि समाचार माध्यममा आएका छन् ।यस्ता गतिविधिबाट टाढै रहनको लागि लकडाउन अवधिलाई सकारात्मक काममा उपयोग गर्दै हरेक सदस्यले पारिवारिक मेलमिलाप र सद्भाव बढाउनेतर्फ जोड दिनु आवश्यक छ ।

भाइरस संक्रमणको जोखिमको कारण अहिले परिवारका अधिकांश सदस्य घरभित्रै रहनुपर्ने बाध्यता भएतापनि परिवारका हरेक सदस्यहरुले यो समयलाई राम्रो काममा उपयोग गर्नु र गराउनु आवश्यक छ ।पारिवारिक रुपमा पूरै समय सँगै रहेर बिताउन पाउने अवसरको रुपमा लकडाउन अवधिलाई लिइ एकअर्काको भावनाको कदर गर्नु र गर्न सिकाउनुपर्दछ । खाली समयको सही सदुपयोग गर्न नसक्ने हो भने त्यसको परिणाम स्वरुप मानसिक समस्या आउन सक्ने वा तनाब बढ्न सक्ने वा नकरात्मक असर पर्न जान्छ । परिवारमा सानो समस्या आउँदा पनि त्यसले ठूलो रुप लिन पुग्छ र परिणाम स्वरुप घरेलु हिंसाका घटनाहरु घट्न सक्छन् ।

घर बाहिरको परिवेशमा हुने जोखिमहरु अर्थात हिंसाका घटनाहरु जस्तै बलात्कार, चोरी, लुटपाट, हत्या, दुर्व्यवहार, यौनजन्य हैरानी आदि न्युन भएतापनि यतिबेला घरभित्रैका समस्याहरु बढ्न सक्ने हुन्छन् ।कामको व्यस्तता नहुँदा परिवारका सदस्यहरुबीच मनमुटाव हुने, विवाद उत्पन्न हुने, झैझगडा हुने, पारिवारिक वेमेलको स्थिति आउने आदि परिस्थितिको सिर्जना हुन सक्छ । यतिमात्रै कहाँ हो र पारिवारिक प्रतिष्ठाको बेप्रवाह र संवेदनशीलतालाई ध्यान नदिइ आवेगमा आउँदा पारिवारिक सम्बन्धभित्रै यौनजन्य दुर्व्यवहार र हत्या जस्ता आपराधिक घटनाहरु पनि घट्न सक्दछन् ।त्यसर्थ खाली समयको सही सदुपयोग गर्दै पीडक र पीडित हुनुपर्ने अवस्थाबाट टाढै रहने प्रयत्न गरौं ।

लकडाउनको यस अवधिमा परिवारका सदस्यहरु आपसमा मिलेर नै पारिवारिक सचेतना र सद्भाव बढाउनु जरुरी देखिन्छ ।अघिपछि हुन सक्ने जोखिमबाट बच्ने उपाय र अहिलेको समयको सदुपयोग कसरी गर्ने भन्ने चेतना अभिभावकले परिवारका सदस्यहरुलार्इ प्रदान गर्नुपर्दछ ।खाली समय सामाजिक सञ्जालमा अरुको आलोचनामा खटिनु वा अन्य कुनै अनावश्यक काममा भन्दा आफ्नो परिवारका सदस्यहरुसँग मिलेर पारिवारिक सद्भाव बाँड्न र रचनात्मक काम गर्न सकेमा आत्मियता बढ्दै जान्छ र हिंसाजन्य व्यवहारले प्रश्रय पाउन सक्दैनन् ।

हरेक कामकारवाहीमा सजगात्मक वा निरोधात्मक उपाय अवलम्बन गर्दै उपचारात्मक प्रवृत्तिबाट टाढै रहन सक्नुपर्दछ । परिवारका सदस्यहरुमा गुटबन्दी गर्ने र कुनै एकलार्इ एक्लाएर हिंसा गरिरहने गलत कार्य पनि भएका देखिन्छन् । लकडाउनको यस्तो परिस्थितिमा त झन घरमै रहनुपर्ने भएको हुँदा पीडितहरु थप मारमा परिरहेका हुन्छन् ।कसलार्इ भन्ने कहाँ उजुरी गर्ने भन्ने सम्म पनि थाहा नभएका पीडितहरु अरुसँग परामर्श सम्म लिन पाएका हुँदैनन् । परिवारका सदस्यहरु मिलेर हत्या गरेका समाचार पनि यस अवधिमा सुनिएका छन् । भाइरसको महामारी विरुद्धमा सबै पक्षबाट ध्यानाकर्षण भइरहँदा कतै घरेलु हिंसाका घटनाहरु त बढिरहेका छैनन् रु समयमै ध्यान जानु जरुरी देखिन्छ ।

व्यक्तिको लागि सबैभन्दा महत्वपूर्ण स्थान भनेको परिवार हो ।परिवारमा हरेक सुख दुःखको साटासाट भइरहेको हुन्छ । एकले अर्काको भावनाको कदर गर्दै कठिन परिस्थितिमा सहयोग गर्ने पनि परिवारका सदस्य नै हुन् ।अहिले भएको लकडाउन अवधिमा पनि परिवारमा त्रास भगाउने खालका कुराकानी गर्ने, जेष्ठ नागरिक, बालबच्चा, अशक्त अपाङ्ग लगायतको हेरचाह सबैजना मिलेर गर्ने, घरायसी काममा एकले अर्कोलाई सघाउने साथै मानसिक पीडा दूर गराउने अन्य क्रियाकलापहरु गर्न सकिन्छ ।कसैले काम गरिरहने कसैले अनावश्यक रुपमा समय व्यतित गर्नुभन्दा परिवारमा सबैजना मिलेर काम गर्दा पारिवारिक सद्भाव बढाउन सकिन्छ ।

बालबालिकाहरु विद्ध्यालय जानबाट वञ्चित छन्, जागिरेहरु आफ्नो कार्यस्थल गएका छैनन्, व्यवसायीहरु व्यवसायमा छैनन्, छन् त केवल सबैजना घरमा । समय व्यतित गर्ने नाममा कतिपय अनावश्यक रुपमा सामाजिक सञ्जालमा भुलिरहने, कसैले बाहिरी मानिसलाई बोलाएर जुवा तास खेल्ने, छोराछोरीहरु अनावश्यक रुपमा मोबाइल ट्याव र टेलिभिजनमा झुम्मिरहने गर्न थाल्ने हो भने परिवारका सदस्यहरुमा लत बस्न गइ उर्जाशिल समय खेर जान्छ ।यस्ता क्रियाकलापले परिवारिक दूरी कम गर्न सक्दैनन् ।बरु पारिवारिक रुपमा खटपट शुरु भइ घरेलु हिंसाको रुप लिन सक्छन् ।त्यसैले यस्ता लत बस्ने कार्यहरु गर्नबाट परिवारका सदस्यलाई जोगाउन परिवारकै सदस्यले समयमै ध्यान दिनु आवश्यक छ ।

परिवारमा कोही सदस्यहरु घुमफिर गरिरहने आदत भएका पनि हुन सक्दछन् । कोही छिमेकीहरुकोमा डुल्ने, कोही मिलन केन्द्रमा गएर भलाकुसारी गर्ने, कोही फरक फरक ठाँउमा घुम्न मन पराउने, कोही चिया पसलमा गएर गफ गर्ने बानी परेका परिवारका सदस्यहरु भएमा उनीहरुलाई यो समयमा घरमै बसिरहन कठिन पनि भएको हुन सक्छ । म थुनिएर बस्न सक्दिन भन्ने अभिव्यक्ति पनि आउने गर्दछन् ।यस्तो अवस्थामा परिवारका अन्य सदस्यले यस्ता स्वभाव भएका सदस्यहरुको बानी व्यवहारलार्इ ख्याल गर्दै उनीहरुलाई सहज हुने वैकल्पिक परिवेशको सिर्जना गर्नुपर्दछ ।यस्ता व्यक्तिलाई खाली समय यसै नराखी मनपर्ने कार्यमा संलग्न गराउन सकिन्छ ।यसरी उपयुक्त विकल्प नरोजेमा घरेलु हिंसाका घटनाहरु घट्न सक्ने भएकाले समयमै सचेत हुनुपर्दछ।

घर परिवारमा मादक पदार्थको कारण पनि हिंसाका घटनाहरु घट्न सक्दछन् ।सम्पूर्ण सदस्यहरु घरमै हुने भएको हुँदा सबै मिलेर मादक पदार्थ सेवन गर्ने सदस्यलार्इ खराब आदत हो भनी अनुभूत गराउन सक्नुपर्दछ । खराब आचरणको सट्टा अन्य सकरात्मक कार्यमा समय खर्चिँदा हुने फाइदाको बारेमा राम्रोसँग बुझाउन सकिन्छ । लकडाउन अवधि थपिएको हुँदा दैनिक निरन्तर रुपमा सकारात्मक उर्जा दिएर आनी बानी परिवर्तन गराउन परिवारका सदस्य केन्द्रित हुन सकेमा खराब आचरणबाट अलग गराउन सकिन्छ ।

घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ मा ‘‘घरेलु हिंसा” भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ भनी उल्लेख गरेको छ ।साथै ‘‘घरेलु सम्बन्ध” भन्नाले बंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारको रुपमा एकै परिवारमा बसेका व्यक्तिहरुका बीचमा भएको सम्बन्ध सम्झनु पर्छ र सो शब्दले सँगै बसेका जोडी वा अंश लिई वा नलिई भिन्न बसेका पति वा पत्नीको सम्बन्ध समेतलाई जनाउने उल्लेख छ ।सोही ऐनको दफा ४ (१) मा घरेलु हिंसा भएको, भैरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले सो सम्बन्धी विवरण खुलाई प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय तह समक्ष लिखित वा मौखिक उजुरी दिन सक्ने प्रावधान रहेतापनि लकडाउनको समयमा घरबाहिर निस्किन समस्या भएको हुँदा उजुरीमा केही समस्या देखिएको छ ।

हिंसाका घटनाहरु घट्दा समयमै सम्बन्धित निकायमा आँफै उपस्थित भइ लिखित उजूरी गर्न नसकेतापनि निशुल्क रुपमा हटलाइनहरुमा फोन गरेर उजूरी दर्ता गराउन सकिन्छ ।घरेलु हिंसा भएमा राष्ट्रिय महिला आयोगको ११४५, नेपाल प्रहरीको १०० र बाल हेल्पलाइनको १०९८ (बालबालिकाको लागि) मा सम्पर्क गर्न सकिन्छ ।स्थानीय तहमा न्यायीक समिति पनि कृयाशिल भएको हुँदा सम्बन्धित स्थानीय तहमा पनि फोन सम्पर्क गरेर उजूरी गर्न सकिन्छ ।

पारिवारिक सद्भाव र समझदारीले नै बाहिरी समस्यासँग जुध्न र असुरक्षाबाट जोगिन सकिन्छ ।कोरोना भाइरसको जोखिमबाट सृजित यस लकडाउन अवधिमा कम्तिमा आफ्नो परिवारका सदस्यहरु मिलेर घरभित्रको आन्तरिक माहोललाई हिंसामुक्त बनाउँदै समझदारिता, समन्वय र पारिवारिक सद्भावको अभिवृद्धि गरौं ।यो समय घरमै बसौं, परिवारमै रमाऔं आँफू र आफ्नो परिवारको सुरक्षामा ध्यान दिऔं ।

लेखक हेटौंडा उपमहानगरपालिकाको प्रमुख महिला विकास अधिकृत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*