पहिलेको रमाइलो नयाँ वर्ष र अहिलेको नयाँ वर्ष

मानवी बानियाँ
१ बैशाख २०७७, सोमबार ११:५६

सानो छँदाको नयाँ वर्ष,
आकाश भन्दा फराकिलो सम्झना
सागर भन्दा गहिरो माया

हिमाल भन्दा पनि उच्च भावना लिएर आउ तिमी,
यहि छ मेरो नया बर्षको शुभकामना ।

करिब एक दशक अघि दिनहरु जव नयाँ वर्ष आउन लाग्थ्यो, मनै फुरुङ्ग हुन्थ्यो । ‘पोष्टकार्ड आदानप्रदान’ मन त्यो कारणले फुरुङ्ग हुन्थ्यो । त्यो बेला नयाँ वर्षको शुभकामना आदनप्रदान गर्ने एउटै माध्यम थियो पोष्टकार्ड । हेटौंडा १८ ठुलोदमारका पसलहरु पोष्टरकार्डले नै भरिएको हुन्थ्यो, अनि मान्छेको भिड पनि उत्तिकै । विशेषत् युवा—युवतिको भिडहरु देखिन्थे । अनि त्यो भिडमा साथिलाई पोष्टकार्ड दिनका लागि म पनि किन्न पुग्थे । १० रुपियाँमा एउटा पोष्टकार्ड किन्थे त्यो मेरो साथि अन्जु स्याङतानको लागि हुन्थ्यो ।

नेपाली पोष्टकार्डको २० रुपियाँ पथ्र्यो भने, भारतीय चलचित्रको सस्तो १० रुपियाँ थियो । मेरो त्यो बेला साथि भनेको मेरो घर नजिकको अन्जु नै थिइ । पोष्टकार्ड किनेर घर लान्थे, अनि दिदिहरुको सहयोगमा पोष्टकार्डमा सायरी लेख्ने गर्थे, त्यो समय गाँउमा दिदिहरु सजना सञ्जिता, ममता विष्णुमाया, मन्जला, अस्मिता हुनुन्थ्यो । ती दिदिहरु मध्ये साहित्यकार खालकी विष्णुमाया दिदि हुनुन्थ्यो, म उहि जान्थे पोष्टकार्ड भर्नको लागि । नयाँ वर्षको अघिल्लो दिन घर/ घरमा सबै पोष्टकार्ड भर्नमा व्यस्त हुन्थे । साथिहरुलाई पोष्टकार्ड दिनको लागि भने अलि धेरै किन्ने दिदि भने सन्जिता दिदि हुनुन्थ्यो, उहाँले अलि भावुक खालका सायरीहरु लेख्नु हुन्थ्यो ।

त्यो बेला जति नजिकको साथि भयो, त्यति पोष्टकार्ड आउथ्यो, मलाई भने एउटामात्र आउथ्यो । घरमा दिदिहरुको सात/आठ वटा पोष्टकार्ड आएको देखेर रहर लाग्थ्यो, मलाई नि यति धेरै आयो नि हुन्थ्यो । मेरो मनको भावनालाई बुझेर होकी, दिदिहरुले भनिदिएर हो, सन्जिता दिदि र विष्णुमाया दिदिले मेरो लागि पनि पोष्टकार्ड पठाईदिनु हुन्थ्यो । पोष्टकार्डको सबैभन्दा रोचकको कुरा के हुन्थ्यो भने, कसले कस्तो खालको पोष्टरकार्ड पायो, अनि आफुले ।

विशेष गरि विभिन्न चलचिका नायक/नायिकाको फोटो हुन्थ्यो, अनि आर्कषक बगैंचा, घर र भर्नाको फोटो हुन्थ्यो । रेखा थापा, अरुणीमा लम्साल, सञ्चिता लुईटेल, करिस्मा मानन्धर लगायतको नेपाली नायिकाहरुको तस्विर हुन्थ्यो । अनि नायकहरु, राजेश हमाल, दिलिप रायमाझी, निखिल उप्रेती, धिरन शाक्य, विराज भट्ट लगायत नायकहरु हुन्थे ।

नेपाली चलचित्र जस्तै भारतका चलचित्रहरुका, रानि मुखर्जी, एश्वर्य राए, प्रिति जिन्टा, सलमान खान, सारुख खान, मिथुला शर्मा लगायतका नायक नायिकहरुको तस्विर खुब चर्चामा थिए । अब त्यो मध्ये आफुलाई कुन खालका तस्विर मनपरेको छ, त्यहिनै पोष्टकार्डको रुपमा साथिलाई पठाउने गथ्र्यौ । अनि कहिले काहि चाहिँ आफुलाई मननपरेको हिरो हिरोइनको फोटो आइपुग्थ्यो । जे होस् त्यो बेलाको पोष्टकार्ड आदानप्रदानको समय खुब रमाईलो हुन्थ्यो । अनि आएका पोष्टकार्डहरु घरको भित्तामा टासेर सजाइन्थ्यो ।

बैशाख महिनाको आधा समयनै विद्यालयमा पनि यि पोष्टकार्डकै चर्चा हुन्थ्यो । अनि कति सयम त ती पोष्टकार्डको हिरोइनसंग समेत आफ्नो अनुहार ऐनामा हेर्दै दाजिन्थ्यो । त्यो बेला पोष्टकार्ड आदानप्रदानले साथि—साथि बिचको सम्बन्ध अझ सुमधुर पाथ्र्यो । अझै मेरा घरका भित्ताहरुमा केहि पोष्टकार्डहरु सजिएका छन् ।

यति मात्र कहा हो र? बाहिरी वातावरण हेर्‍यो, जताजतै कलिला पालुवा पलाउँदै गरेका रूखहरू, सितल मौसम, कोइली चरीको मधुर श्वर यी सबै चिजहरुको संयोजनले नयाँ वर्षलाई नै स्वागत गरिरहेको जस्तो आभास मिल्थ्यो । नयाँ वर्षको दिनमा मिठो मसिनो खाए वर्षभरी नै खान पाईन्छ, राम्रो लाए वर्ष भरी नै लाउन पाइन्छ भनेर मिठो मसिनो खाने र राम्रो लाउने चलन थियो। त्यसै गरिन्थ्यो । यद्यपी यो चलन अहिले पनि उत्तिकै छ । त्यति मात्र हो र? नयाँ वर्षका नयाँ दिनहरूसँगै आफ्ना पाइलाहरू कार्यतालिकामा हिडाउँने भनेर कार्यतालिका पनि बनाईयो । तर, त्यो कार्यतालिकामा कहिल्यै हिड्न सकिएन् । कार्यतालिका समेत बनाउन उत्साहित हुनु भनेको नयाँ वर्षले अनुभूत गराएको जाँगर र उत्साह नै थियो ।

ती दिनहरु फेरिए अब। दिन मात्र होइन महिना पनि फेरिए, महिना मात्र कहाँ हो र? डेढ दर्जन बढी पात्रोहरू पनि फेरिए। मान्छेका मनहरु फेरिए । नयाँ वर्ष मनाउने शैलीहरू फेरिए। लेख्ने सायरीहरु फेरिए । ती पोष्टकार्डका दिन त झन कता गए गए । अहिलेको पुस्तालाई पोष्टकार्डका दिनहरू पढ्दा, सुन्दा झन अचम्म लाग्ला । केही कुराले केही कुरा बिस्थापित गरिदिने हो भने त्यो इतिहास बन्दोरहेछ । पोस्टकार्ड दिनहरू अब इतिहास बन्दै गए । पोष्टकार्ड सायद बजारमा नै पाइदैनन्। किन्नेले नकिने पछि बजारमा नहुने नै भयो। कहिकतै पाइहाले पनि प्रिन्टिङ डिजाईन र विषयबस्तु फरक रूपले उत्पादन भएका होलान् । जे भनेनि, जमाना पोस्टकार्डको रहेन अब । समय फेरिएको छ, समाज आधुनिक बनेको छ ।

समाज सूचना र सञ्चारको प्रतिस्पर्धामा उत्रिएको छ । मान्छेले विज्ञान र प्रविधि अनि सूचना र सञ्चारको माध्यमबाट आफ्नो जीन्दगी चलाउन सजिलो बाटो बनाईरहेका छन् । जुन एकदमै सकारात्मक परिवर्तन हो। नयाँ वर्षका शुभकामना एकअर्कामा साट्न पोस्टकार्ड खोज्न जान पर्दैन अब । हाम्रा अगाडि थुप्रै विक्ल्पहरू छन् शुभकामना साट्न फेसबुक, ट्विइटर, इन्टाग्राम, स्काईप, विच्याट, भाइवरलगायतका सामाजिक सञ्जालहरुमात्र हैन फोन, म्यासेज, इमेल जस्ता थुप्रै माध्यमहरु छन् जसबाट हजारौं साथीभाई, आफन्त, छरछिमेक, नातागोता, परिचित, अपरिचित सबैलाई एकैपटक क्षणभरमै शुभकामनाका शब्दहरु पुर्‍याउन सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*