किन खास छन् ट्रम्पदेखि पुटिनसम्म चढ्ने ‘भीआईपी’ विमान ?
विश्वका शीर्ष नेताहरु तथा प्रभावशाली व्यक्ति चढ्ने विमान सुरक्षा र सेवा सुविधाका हिसाबले साधारण हवाइजहाज भन्दा धेरै फरक हुन्छन् । वास्तवमा विश्वप्रमुखहरुलाई आफ्नो देश बाहिरको यात्रामा सुरक्षित राख्ने उद्देश्यसहित त्यस्ता भीआईपी विमान डिजाइन विशेष तरिकाले गरिएको हुन्छ ।जसकारण नै यी विमानभित्रका तस्बिर र भिडियोहरु अत्यन्तै दुलर्भ मानिन्छन् ।
यी राष्ट्रप्रमुखहरु विश्वकै सबैभन्दा शक्तिशाली व्यक्तित्वहरुमा पर्ने हुनाले पनि यिनको हवाइ यात्रामा खास ध्यान दिइने गरिन्छ । जसबारे बिजनेस इन्साइडरले प्राप्त गरेको केही सीमित जानकारीहरु यस प्रकार रहेका छन् । पहिलो नम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उडानको कुरा गर्नुपर्दा उनले ‘रेट्रोफिटेड बोइङ ७४७–२००बी’ मा यात्रा गर्ने गरेका छन् । वास्तवमा यस्ता दुईवटा विमान छन् ।
र, तिनीहरुमध्ये जुनमा ट्रम्प सवार हुन्छन् त्यसलाई ‘एयर फोर्स वान’ भनिन्छ । यो नीलो र सेतो रङ्को डबल–डेकर विमान हो जुन पछिल्लो २५ वर्षदेखि अमेरिकी राष्ट्रपतिहरुले प्रयोग गर्दै आएका छन् । यो इलेक्ट्रोम्याग्नेटिक पल्समुक्त छ भने यसको संचार लाइन अत्यन्तै सुरक्षित मानिन्छ । त्यस्तै यी विमानमा पूर्णरुपमा तयार अवस्थामा स्वास्थ्य सामग्रीहरु पनि स्टक गरि राखिएको हुन्छ जुन आवश्यक परेमा शल्यक्रिया गर्ने कोठामा परिणत गर्न सकिन्छ ।
यी विमानमा १०० जना मानिस अटाउन सक्छन् जसको मूल्य १ अर्ब डलर बराबर अनुमान गरिएको छ । दोस्रोमा रुसका राष्ट्रपति भलाद्मीर पुटिनसँग भने कूल १३२ गरी सबैभन्दा धेरै हवाइजहाज छन् । तर पनि उनी मुख्यगरी रुसमै बनेको ‘इलयुशिन आइएल–९६–३००’ मा यात्रा गर्ने गर्छन् । यसको बाहिर विशेष रङ कोट गरिएको छ जसकारण रेडरहरुले यसलाई सजिलै भेटाउन र पत्ता लगाउन सक्दैनन् । त्यस्तै यसमा हवाइ हमलाबाट जोगाउन एन्टि–एयरक्राफ्ट डिफेन्सहरु पनि जडान गरिएको छ ।
विमानको भित्र भने महङ्गा डिजाइनका टाइल र फ्याब्रीकहरु बिच्छ्याइएको छ भने टन्न सुन राखिएको छ अनि अफिस, बेडरुम र राष्ट्रपतिका लागि सम्पूर्ण उपकरणसहितको जिम पनि छ । यसको मूल्य आधा अर्ब डलर रहेको बताइन्छ । तेस्रोमा विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिमा पर्ने चीनका जिनपिङ भने उडानको कुरामा अमेरिका र रुसका राष्ट्रपति भन्दा फरक छन् ।
राष्ट्रपति शि जिनपिङका लागि कुनै विशिष्ट विमान निर्धारित गरिएको छैन । उनी ‘एयर चाइना’ ले सञ्चालन गर्ने दुईवटा ‘बोइङ ७४७ एस’ मध्येको एउटामा यात्रा गर्ने गर्छन् । यो एउटा विमानको झन्डै २५ करोड डलर मूल्य रहेको छ । र राष्ट्रपति शि त्यसमा सवार नहुँदा यी विमान व्यवसायिक सार्वजानिक यात्राका लागि पनि प्रयोग हुन्छन् र साधारण उडान भर्ने गर्दछन् । त्यसैले यी विमानको भित्र पनि कुनै विशेष सेवासुविधा छैन । तर जिनपिङ चढ्नुपर्ने भएमा चाहिँ सुरक्षाको विषयमा केही परिवर्तनहरु गर्ने गरिएको छ र आन्तरिक बेडरुम अनि अफिस फिट गरिन्छ । यता दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन पनि आफ्नो विदेश भ्रमणका लागि विशेष विमानमा सवार भएर यात्रा गर्ने गरेका छन् ।
उनले कोरियन एयरको ‘बोइङ ७४७–४००’ लिजमा लिएका छन् । साधारण बोइङ ७४७ को मूल्य २४ करोड डलर रहेको छ । तर २०२० मा १० वर्षको लिज सकिने हुँदा राष्ट्रपति मुन अहिले नयाँ विमानको खोजीमा रहेको बताइएको छ । अहिलेका लागि भने उनीसँग ह्वाइट ७४७ छ जसको अगाडिको चुच्चोमा रातो र सेतो एसेन्ट फिट गरिएको छ । यसले मिसाइलहरु विरुद्ध विमानलाई सुरक्षित राख्ने गर्दछ । त्यस्तै यसमा रेडरबाट बच्ने क्षमता पनि छ ।
कतारका राजनीतिक भीआईपीहरु यात्रा गर्ने विमानलाई भने विश्वकै महङ्गो मानिएको छ जसको मूल्य १।५ अर्ब डलर बराबर छ । यसमा दुईवटा ‘बोइङ ७४७–८ बीबीजेएस’ समावेश छन् । यसरी कतारका प्रमुखहरु हरेक विदेश यात्रामा एउटा भन्दा धेरै विमानको प्रयोग गर्ने गरेका छन् । जसमा उनको खाना र लक्जरी लाइमोसिन गाडीहरुयुक्त कार्गो र एक हजार भन्दा धेरै अन्य प्रतिनिधि पनि संगै लाने गरिएको छ । त्यस्तै शाही परिवारका सदस्यले पनि त्यही जहाजको प्रयोग गर्ने गरेका छन् ।
जर्मनीकी चान्सलर एन्जेला मार्केलले भने ‘ए३४०–३०० एयरलाइन्स’ का दुई विमान मध्येको एउटामा यात्रा गर्ने गरेकी छन् ।मार्केलले प्रयोग गर्नु भन्दा पहिले ए३४० को सिरिज व्यवसायिक विमान थियो र १४३ यात्रुहरुलाई बोक्ने गरेको थियो । जसभित्र बेडरुम, बाथरुम, अफिस र आवाजमुक्त कन्फरेन्स रुम पनि छ । सो एउटा विमानलाई ३० करोड डलरसम्म पर्ने बताइएको छ । बेलायतका प्रधानमन्त्री भने एयरबस ए३३० मा विदेश यात्रा गर्ने गरेका छन् जसको मूल्य २५ करोड डलर रहेको छ ।
यो वास्तवमा साधारण व्यवसायिक विमान जस्तै हुन्छ तर अतिरिक्त एरियल रिफ्युलिङ क्षमता भने थप गरिएको हुन्छ । विमानको अगाडिपट्टी एउटा विशेष सुइट रुम छ जसले क्याबिनको अन्य भागबाट यसलाई छुट्याउँछ । त्यसमा ५८ वटा बिजनेस क्लास सिटहरु पनि उपलब्ध छन् भने पत्रकारहरुका लागि १०० वटा इकोनोमी सिट छन् । विश्वप्रमुखहरुले चढ्ने विमानमध्ये सो विमानसँग सबैभन्दा धेरै यात्रु धान्ने क्षमता रहेको छ ।
अर्कोतर्फ बेलायतको शाही परिवारले प्रयोग गर्ने विमान भने छुट्टै रहेको छ जसको मूल्य १० करोड बराबरको छ । यसमा १० वटा निजी विमान र तीन हेलिकोप्टर पर्दछन् । इरानका प्रमुख रोहानी चाहिँ कुनै समय एयर क्यानडा र टर्किस एयरलाइन्सको स्वामित्वमा रहेको एयरबस ए३४० मा यात्रा गर्ने गर्छन् । उनको विमान इरानियन एयरलाइन डेना एयरवेजले सञ्चालन गर्ने एक मात्र विमान हो जसको मूल्य अज्ञात छ ।
टर्कीका प्रमुखले चाहिँ प्रभावशाली रुपमा व्यवसायिक विमानलाई भीआइपी जहाजमा परिणत गराएका छन् । जसमा बोइङको निजी विमान पनि समावेश छ । ती मध्येका एक टर्कीका राष्ट्रपतिले कतार सरकारबाट उपहारमा प्राप्त गरेका हुन् । यसरी साधारण ४०० सिटहरुको सट्टा सो विमानभित्र एउटा सिङ्गो लक्जरी कोठा निर्माण गरिएको छ । जसकारण अहिले त्यसले केबल ७६ यात्रु मात्र बोक्न सक्छ ।
फस्ट क्लास सिट, लन्ज, कन्फरेन्स रुमहरुका साथै यसभित्र अस्पताल पनि छ । यसको मूल्य ५० करोड डलर रहेको छ । ब्राजिलका राष्ट्रपतिले भने एयरबस ए३१९ प्रयोग गर्छन् जुन छोटो दुरीको यात्राका लागि भीआईपी विमान हो । त्यसमा पनि कन्फरेन्स रुम, अफिस र बेडरुम सबैको सेवा छ । यसरी सबै विश्वनेताहरु सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै स्टाइलमा यात्रा गर्ने गरेका छन् । एजेन्सी






