मकवानपुरमा वर्षापछि किसानलाई राहत

जनपत्र
१३ बैशाख २०८३, आईतवार ०७:३१

हेटौंडा । लामो समयदेखि वर्षा नहुँदा सुख्खापनको मार झेलिरहेका मकवानपुरका किसानले आइतबार परेको वर्षापछि राहत महसुस गरेका छन् । बिहानैदेखि सुरु भएको वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा रोपिएका मकै, तरकारी तथा अन्य बालीलाई जीवनदान दिएको किसानहरूले बताएका छन्।

पछिल्ला केही सातादेखि पानी नपर्दा खेतबारीको माटो सुक्खा बन्दै गएको थियो । विशेषगरी मकैबारी र तरकारी खेतीमा पानी अभावका कारण बाली सुक्न थालेका थिए । किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा थिए । आइतबार परेको वर्षाले उनीहरूको चिन्ता केही हदसम्म कम गरेको छ ।

हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका लगायत जिल्लाका विभिन्न स्थानीय तहमा भएको वर्षाले खेतबारीमा पर्याप्त चिस्यान पुगेको छ । यसले मकैको वृद्धि र तरकारी उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको मकवानपुरगढी–५ का किसान हर्क बहादुर लोले बताए ।

हेटौंडा–१५,१६,१७ का किसानले वर्षाका कारण सुक्न लागेको मकैबारी जोगिएको बताए । उनका अनुसार समयमै पानी नपरेको भए उत्पादनमा ठूलो असर पर्ने अवस्था थियो । तरकारी खेती गर्ने किसानहरू पनि वर्षापछि उत्साहित देखिएका छन् । सिँचाइको अभावमा दैनिक मोटर चलाएर पानी हाल्नुपर्ने बाध्यता रहेको अवस्थामा प्राकृतिक वर्षाले खर्च समेत बचाएको उनीहरूको भनाइ छ ।

कृषि प्राविधिकहरूका अनुसार अहिले परेको वर्षा मौसमी हिसाबले महत्वपूर्ण मानिन्छ । विशेषगरी गर्मीयाममा बढ्दो तापक्रमका बीच परेको पानीले जमिनमा चिस्यान कायम राख्नुका साथै बालीको वृद्धि विकासमा सहयोग पुर्‍याउने बताइएको छ ।

यद्यपि किसानहरूले नियमित र आवश्यक मात्रामा वर्षा भइरहनुपर्ने बताएका छन् । एक पटकको वर्षाले तत्काल राहत दिए पनि आगामी दिनमा पानी नपरे पुनः समस्या दोहोरिन सक्ने उनीहरूको भनाइ छ ।

वर्षासँगै मकवानपुरको मौसम पनि शितल बनेको छ । केही दिनयता अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको अवस्थामा वर्षाले सर्वसाधारणलाई समेत राहत दिएको छ । किसानहरू भने यो वर्षालाई उत्पादन बढाउने आशाको संकेतका रूपमा लिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*