नयाँ वर्ष २०८३ मा मकवानपुरका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल

जनपत्र
१ बैशाख २०८३, मंगलवार ०८:२४

हेटौंडा । नयाँ वर्ष २०८३ को अवसर पारेर मकवानपुर जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकहरूको उल्लेख्य चहलपहल देखिएको छ। नयाँ वर्ष मनाउन परिवार, साथीभाइ तथा आफन्तहरूसँग घुमफिरमा निस्किएका पर्यटकहरूको भीडले जिल्लाका विभिन्न गन्तव्यहरू जीवन्त बनेका छन्।

विशेषगरी हेटौंडाको शहिद स्मारक, कुस्माण्ड सरोवर, त्रिवेणी धाम, पुष्पलाल पार्क तथा बनस्खण्डी क्षेत्रमा बिहानदेखि नै पर्यटकहरूको भीड लागेको देखिन्छ। हरियाली वातावरण, रमणीय दृश्य र सहज पहुँचका कारण यी क्षेत्रहरू नयाँ वर्षमा घुमफिरका लागि आकर्षक गन्तव्य बनेका हुन्।

त्यस्तै, भीमफेदी गाउँपालिका अन्तर्गत पर्ने त्रिखण्डी, ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी दरबार क्षेत्र तथा थाहा नगरपालिका भित्रका दामन, चित्लाङ, इन्द्रसरोवर र मार्खु क्षेत्रमा समेत पर्यटकहरूको घुइँचो लागेको छ।

पर्यटकहरूका अनुसार नयाँ वर्षलाई प्रकृतिसँग नजिकिएर, शान्त वातावरणमा मनाउने उद्देश्यले मकवानपुरका यी गन्तव्य रोजिएका हुन्। कतिपयले पिकनिक, फोटोसेसन तथा पारिवारिक भेटघाटमार्फत नयाँ वर्ष मनाइरहेका छन् भने केहीले धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकनलाई प्राथमिकता दिएका छन्।

स्थानीय व्यवसायीहरूका अनुसार नयाँ वर्षका कारण होटल, रेस्टुरेन्ट तथा यातायात क्षेत्रमा पनि उत्साह थपिएको छ। आन्तरिक पर्यटनको यस्तो सक्रियताले स्थानीय अर्थतन्त्र चलायमान बन्न सहयोग पुगेको उनीहरूको भनाइ छ।

नयाँ वर्षसँगै देखिएको यस्तो चहलपहलले मकवानपुरका पर्यटकीय सम्भावनालाई थप उजागर गरेको छ भने आगामी दिनमा पर्यटन प्रवर्द्धनका लागि सकारात्मक संकेत पनि दिएको स्थानीयहरूले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*