मकवानपुरका खोलामा निरन्तर दोहनः साबेलले उत्खनन् गर्ने मजदुरलाई जेल, मेसिन चलाउनेलाइ छुट
मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो दुई दिनको अवधिमा हेटौंडाको रापती खोला तथा विभिन्न खहरे खोलाहरूमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको आरोपमा नौ जना मजदुर र केही ट्याक्टर चालकलाई पक्राउ गरेको छ। प्रहरीले उत्खनन् कार्यमा संलग्न ट्याक्टरहरू समेत नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार विभिन्न स्थानमा अवैध उत्खनन् भइरहेको सूचनाका आधारमा कारबाही अघि बढाइएको हो। “अवैध रूपमा उत्खनन् गर्ने सबैलाई कानुनी दायरामा ल्याइन्छ। पक्राउ परेकामाथि मुद्दा चलाइनेछ, र छुटाउन दबाब दिने बिचौलियालाई समेत कारबाही गरिन्छ,” उनले भने।
तर, सामान्य मजदुरलाई गरिएको यस कारबाहीले स्थानीयस्तरमा प्रश्न समेत उठाएको छ। स्थानीय तहको स्वीकृति लिएर सञ्चालन भइरहेका उत्खनन् स्थलहरूमा तोकिएको मापदण्ड उल्लंघन हुँदा पनि कारबाही नभएको गुनासो बढ्दो छ। मकवानपुरगढी, मनहरी, राक्सिराङ र बकैया गाउँपालिकाका विभिन्न खोलाहरूमा व्यापक उत्खनन् भइरहेको स्थानीय बताउँछन्।
मकवानपुरमा निरन्तर रूपमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगमाथि कुनै कारबाही भएको छैन। दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका मजदुरमाथि मात्र प्रहरीले कडाइ गरेको छ। स्थानीय तहको अनुमति लिएर पनि मापदण्ड विपरीत उत्खनन् गर्नेहरूमाथि कुनै कारबाही गरिएको छैन। खोलामा भइरहेको अवैध उत्खनन् नियन्त्रणमा दोहोरो व्यवहार भएको मजदुरहरूले बताएका छन्।
हेटौंडास्थित रापती खोला तथा मकवानपुरगढीको सामरी खोला अत्यधिक उत्खनन्का कारण धमिलो बनेका छन्। राक्सिराङ र मनहरीका खोलाहरू त प्रायः सधैं धमिलो रहने अवस्था पुगेको स्थानीयको भनाइ छ। कतिपय स्थानमा नदीको प्राकृतिक स्वरूप नै बिग्रिएको देखिन्छ।
विशेषगरी, स्थानीय तहकै अनुमति लिएर एक्साभेटर प्रयोग गरी गरिएका उत्खनन् कार्यहरूमा मापदण्ड पूर्ण रूपमा उल्लंघन भएको आरोप छ। तर, यस्ता ठूला गतिविधिमा संलग्न पक्षमाथि कारबाही नहुँदा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमिकहरू मात्र निशानामा परेको भन्दै आलोचना भइरहेको छ।
मकवानपुरका विभिन्न क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगहरू पनि निरन्तर सञ्चालनमा छन्। हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी, मनहरी, भीमफेदी र बकैया गाउँपालिकामा रहेका यस्ता उद्योगहरूमा अवैध रूपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ पुग्ने गरेको छ। तर, यस्ता उद्योगमाथि प्रभावकारी अनुगमन र कारबाही नभएको देखिन्छ।
प्रहरी उपरीक्षक खत्रीले भने स्थानीय तहको स्वीकृतिमा कानुनी रूपमा सञ्चालन भएका उत्खनन् कार्यमा प्रहरीले हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारे। “वैधानिक रूपमा अनुमति प्राप्त उत्खनन् कार्यमा हामीले कारबाही गर्न सक्दैनौं,” उनले भने।
यद्यपि, कानुनमा तोकिएको मापदण्ड विपरीत भइरहेको उत्खनन्को असर भने सर्वसाधारणले भोगिरहेका छन्। नदीको सतह घट्ने, पानी धमिलो हुने, वातावरणीय सन्तुलन बिग्रने जस्ता समस्या दिनानुदिन बढिरहेका छन्।
यसरी, मकवानपुरमा अवैध उत्खनन्को नियन्त्रणमा प्रहरी सक्रिय देखिए पनि ठूला संरचना र प्रणालीगत समस्या समाधानतर्फ ठोस कदम नदेखिँदा समग्र प्रयासमाथि नै प्रश्न उठ्न थालेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुइ दिनको बिचमा पक्राउ गरेका ३७ जना मध्य केही मजदुरहरु रहेका छन् । प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको यो दुइ वटा लिष्ट हेरौ ।









