हेटौंडामा गोठमा आगलागीः १० बाख्रा जलेर मरे, बाच्छी घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेमा गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरेका छन् भने एक गाईको बाच्छी घाइते भएको छ।
गएराती स्थानीय सानुकाजी स्याङवोको काठ र जस्ताबाट बनेको गोठमा आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षक गौरिशंकर साहको कमाण्डमा टोली खटिएको थियो।
प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ भने करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार गोठ नजिक मुसा धपाउन बालिएको आगो सल्किएर आगलागी भएको खुल्न आएको छ। घटना स्थल प्रहरी चौकी रातोमाटेबाट करिब ४ किलोमिटर पूर्वमा पर्दछ।







