मकवानपुरगढीको सामरी खोलामा जथाभावी उत्खनन्, अनुगमनपछि मापदण्ड उल्लङ्घन खुलासा
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका क्षेत्रमा पर्ने सामरी खोलामा तोकिएको मापदण्डविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् भइरहेको गुनासो बढेपछि सरोकारवाला निकायले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् । निरन्तर रूपमा एक्साभेटर मेसिन प्रयोग गरी भइरहेको उत्खननले खोलाको स्वरूप नै बिग्रन थालेको र वातावरणीय असर देखिन थालेको भन्दै स्थानीयवासीले पटक–पटक गुनासो गरेपछि अनुगमन गरिएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको नेतृत्वमा भएको अनुगमन टोलीमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी मकवानपुरका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो । सुरक्षा निकायसहितको टोलीले खोलाको विभिन्न भाग निरीक्षण गर्दै भइरहेको उत्खनन्, प्रयोग भइरहेको उपकरण तथा मापदण्डको पालना अवस्थाबारे जानकारी लिएको थियो ।
मकवानपुरगढी गाउँपालिकाले वडा नम्बर ५ र ६ अन्तर्गत पर्ने सामरी खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा संकलनका लागि ठेक्का सम्झौता गरेको छ । सोही ठेक्का अन्तर्गत अहिले वडा नम्बर–६ को सोल्टीमोर क्षेत्रमा तीव्र गतिमा उत्खनन् कार्य सञ्चालन भइरहेको छ । तर, ठेक्का सम्झौता तथा वातावरणीय अध्ययनमा उल्लेख गरिएका मापदण्डहरू फिल्डमा पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो स्थानीयले गरेका छन् ।
अनुगमनका क्रममा सबैभन्दा गम्भीर रूपमा देखिएको विषय भनेको गहिराइ सम्बन्धी मापदण्ड उल्लङ्घन हो । गाउँपालिकाले गरेको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) अनुसार खोलामा अधिकतम एक मिटर गहिराइसम्म मात्र उत्खनन् गर्न पाइने व्यवस्था भए पनि स्थलमै दुई मिटर वा सोभन्दा बढी गहिराइसम्म खनिएको भेटिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । “तोकिएको मापदण्डभन्दा बढी गहिराइमा उत्खनन् भएको देखियो, यो गम्भीर विषय हो,” उनले भने ।

त्यस्तै, खोलामा निरन्तर रूपमा एक्साभेटर प्रयोग गरी उत्खनन् गर्दा पानी नै धमिलो बनेको, जलचर तथा आसपासको वातावरणमा प्रत्यक्ष असर परेको स्थानीयवासीको भनाइ छ । खोलाको प्राकृतिक बहावमा असर पुग्ने, किनार क्षेत्र कटान हुने तथा बाढीको जोखिम बढ्ने सम्भावनासमेत बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीयका अनुसार तोकिएको घनमिटरभन्दा बढी परिमाणमा उत्खनन् भइरहेको र नियमन कमजोर हुँदा जथाभावी रूपमा स्रोत दोहन भइरहेको छ । “गाउँपालिकाले एउटा मापदण्डमा ठेक्का लगाएको छ, तर कार्यान्वयन अर्कै तरिकाले भइरहेको छ,” एक स्थानीयवासीले गुनासो गरे ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी अधिकारीले वास्तविक उत्खननको परिमाण र मापदण्ड उल्लङ्घनको स्तर प्राविधिक नापजाँचपछि मात्रै यकिन हुने बताए । “कति परिमाणमा उत्खनन् भएको छ, ठेक्का अनुसार भन्दा बढी हो कि होइन भन्ने विषय प्राविधिक टोलीले मापन गरेपछि मात्र स्पष्ट हुन्छ,” उनले भने । साथै, अनुगमनबाट देखिएका प्रारम्भिक तथ्यका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने पनि उनले जनाए ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले पनि मापदण्ड पालना गराउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुगमनबाट आएका सुझाव तथा प्रतिवेदनका आधारमा सुधारका कदम चालिने बताए । ठेक्का लिने पक्षले सम्झौता अनुसार काम नगरे कारबाही गरिने उनको भनाइ छ ।
सामरी खोलामा भएको यस्तो उत्खननले प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, वातावरण संरक्षण र स्थानीय तहको नियमन क्षमतामाथि प्रश्न उठाएको छ । विशेषगरी नदीजन्य पदार्थ उत्खनन् जस्तो संवेदनशील विषयमा तोकिएको मापदण्ड कडाइका साथ लागू नगरिँदा दीर्घकालीन रूपमा ठूलो वातावरणीय तथा सामाजिक असर पर्ने सरोकारवालाहरू बताउँछन् ।
अनुगमन टोलीले स्थलगत अवलोकनपछि विस्तृत प्राविधिक प्रतिवेदन तयार पार्ने र सोही आधारमा थप निर्णय तथा कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । अहिले भने सामरी खोलामा भइरहेको उत्खनन् कार्य, त्यसको वैधानिकता र प्रभावबारे चासो र बहस थप चुलिएको छ ।

मकवानपुरगढी गाउँपालिकाले आईई गरेको चार वटा पोइटमा उत्खनन् गर्नेगरी भिजन कन्ट्रक्शनले ठेक्का लिएको थियो । सामरी खोलामा उत्खनन् गर्नका लागि गाउँपालिकाको मापदण्डमा रहेरनै उत्खनन् गरिएको र जथाभावि रुपमा उत्खनन् नगरिएको निर्माण कम्पनिका सञ्चालकको दावि छ ।
गाउँपालिकाले करिब ९९ सय हजार घनमिटर नदिजन्य पदार्थ उत्खनन्नका लागि ठेक्का लगाएको थियो । त्यस वापत गाउँपालिकाले ३ करोड १३ लाख राजश्व संकलन गर्ने रकम मध्यमा ७० प्रतिशत रकम पहिलेनै गाउँपालिकाको खातामा जम्मा गरिएको भिजन कन्ट्रक्शनले जनाएको छ । काम सुरु गर्नु भन्दा पहिलेनै २ करोड १९ लाख १० हजार रुपैयाँ खातामा जम्मा गरेर काम सुरु गरिएको र अरु रकम भने पछी बैशाखमा जम्मा गरिने कम्पनिले जनाएको छ ।







