मकवानपुरमा एसईई परीक्षार्थी घटे, ७ हजार १९२ विद्यार्थी सहभागी हुँदै
हेटौंडा । चैत १९ गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाबाट यस वर्ष ७ हजार १९२ परीक्षार्थी सहभागी हुने भएका छन्। गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या घटेको देखिएको छ। अघिल्लो वर्ष जिल्लाबाट ७ हजार ४५६ विद्यार्थी एसईईमा सहभागी भएका थिए।
मकवानपुर जिल्लास्थित १ सय ५ वटा सामुदायिक तथा ३७ वटा संस्थागत विद्यालयका छात्रछात्रा यस वर्षको एसईई परीक्षामा सहभागी हुन लागेको जानकारी दिदै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुदीप गिरीले अधिकांश विद्यालयले योग्यता परीक्षामै कम विद्यार्थी सहभागी गराउनाले संख्या कमी हुँदै आएको बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार नियमिततर्फ ५ हजार ५२७ र ग्रेडवृद्धितर्फ १ हजार ६५ जना गरी कुल ७ हजार १९२ परीक्षार्थीले परीक्षा दिने तयारी गरेका छन्।
परीक्षा व्यवस्थापनका लागि जिल्लाका १० वटै स्थानीय तहमा गरी २८ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको सम्बन्धित निकायले जनाएको छ। यस वर्ष परीक्षार्थी संख्या केही घटे पनि परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरू सक्रिय रूपमा लागिपरेका छन्।







