मकवानपुरका दुई निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु गरिदै
हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु गरिने भएको छ। बिहीबार सम्पन्न मतदानपछि मतपेटिकाहरू सुरक्षित रूपमा मतगणना स्थलमा ल्याएर राखिएको र सर्वदलीय बैठकपछि मतगणना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ का सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी हेटौंडास्थित भुटनदेवि माध्यमिक बिद्यालयमा ल्याइ सकिएको र सुरक्षित रूपमा राखिएको छ। सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया, गणनास्थलको व्यवस्थापन तथा प्रतिनिधिहरूको उपस्थितिबारे सहमति भएपछि आजबाट मतगणना सुरु गरिने तयारी गरिएको हो।
मतगणनाका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको छ। गणनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मीको कडा सुरक्षा व्यवस्था गरिएको छ भने सीसीटिभी क्यामेरासहित तारजाली लगाएर गणना स्थललाई व्यवस्थित बनाइएको छ।







