मकवानपुरमा दिउँसो २ बजेसम्म ४५ प्रतिशत मत खस्यो
हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुरमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ ।
मकवानपुर जिल्लामा खटिएका मतदान अधिकृतहरुका अनुसार दिउसो २ बजे सम्म करिब ४५ प्रतिशत मतदान भइसकेको छ । कुनै मतदान केन्द्रहरुमा ५२ प्रशित सम्म र कुनै मतदान केन्द्रहरुमा ४२ प्रशित सम्म मतदान भइसकेको मतदान अधिकृतहरुले बताएका छन् । उनीहरुका अनुसार बिहानदेखि नै जिल्लाभरका मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य सहभागिता देखिएको छ ।
हेटौंडाको भुटनदेवि माध्यमिक बिद्यालयका मतदान अधिकृत श्रीराम पुडासैनी र बाल्ज्योती माध्यमिक बिद्यालयका मतदान अधिकृत अच्युत लामिछानेले दिउसो २ बजे सम्ममा आफ्ना केन्द्रमा ५० प्रतिशत मत खसेको बताएका छन् । यसैगरी हेटौंडाको शिदार्थ माध्यमिक बिद्यालयमा रहेको मतदान केन्द्रका मतदान अधिकृत विष्णु कुमारी लामिछानेले दिउसो २ बजे सम्म करिब ५२ प्रतिशत मतदान भएको बताइन । जिल्लाका दुर्घगम गाउँमा, हेटौंडाकै केही केन्द्रमा भने ४० प्रतिशत मत खसेको मतदान अधिकृतहरुले बताएका छन् ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र अहिले सम्म कुनैपनि घटना नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए ।
जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा रहेका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया सुचारु रूपमा चलिरहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले बताए । सुरक्षा व्यवस्थालाई कडा पार्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
निर्वाचन अधिकारीहरूका अनुसार बिहानको समयमा वृद्धवृद्धा, महिला तथा युवाहरूको सहभागिता उल्लेख्य देखिएको छ । दिन चढ्दै जाँदा मतदान केन्द्रहरूमा मतदाताको चाप अझ बढ्दै गएको जनाइएको छ । जिल्लाभर तोकिएका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया बेलुका ५ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ । निर्वाचन कार्यालयले सबै मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुरमा कुल तीन लाख १५ हजार ३३४ मतदाताले मतदान गर्दै छन् । यहाँका मतदाताहरुलाई कडा सुरक्षा व्यास्थाका साथ मतदानको व्यवस्था मिलाइएको छ । चार वटै सुरक्षा निकायका करिब ४ हजार भन्दा धेरै सुरक्षाकर्मीहरु मतदानमा खटिएका छन् ।
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ मतदाता रहेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
४० वटा वडा रहेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थलमा १७८ वटा मतदान केन्द्र रहेका छन् । ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थलमा १९६ वटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले बताए । यी मतदान केन्द्र बाहेक जिल्लाको पूर्व सदरमुकामस्थित भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौँडा अस्थायी मतदान केन्द्र रहेको छ ।







