मकवानपुरका ३ लाख १५ हजार मतदाताले ३७६ मतदान केन्द्रबाट आज मतदान गर्दै, सुरक्षा व्यवस्था कडा
हेटौंडा । आज प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुरमा कुल तीन लाख १५ हजार ३३४ मतदाताले मतदान गर्दै छन् । यहाँका मतदाताहरुलाई कडा सुरक्षा व्यास्थाका साथ मतदानको व्यवस्था मिलाइएको छ । चार वटै सुरक्षा निकायका करिब ४ हजार भन्दा धेरै सुरक्षाकर्मीहरु मतदानमा खटिएका छन् ।
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ मतदाता रहेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
४० वटा वडा रहेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थलमा १७८ वटा मतदान केन्द्र रहेका छन् । ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थलमा १९६ वटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले बताए । यी मतदान केन्द्र बाहेक जिल्लाको पूर्व सदरमुकामस्थित भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौँडा अस्थायी मतदान केन्द्र रहेको छ ।







