विकास, सुशासन र रोजगारी केन्द्रित प्रतिबद्धतासहित रामेश्वर रानाको अपिल
हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी आफ्ना चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै रानाले यसपटकको निर्वाचन सामान्य आवधिक प्रक्रिया मात्र नभई विशेष परिस्थितिले सिर्जना गरेको महत्वपूर्ण अवसर भएको उल्लेख गरे। उनले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र प्राप्ति, संघीय गणतान्त्रिक संविधानको कार्यान्वयन तथा विकास र समृद्धिका लागि नेकपा एमालेले विगतदेखि नै राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे। मकवानपुर जिल्लाको विकास यात्रामा केन्द्र, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वले पुर्याएको योगदान जनताले प्रत्यक्ष अनुभूति गरिसकेको उनले बताए।
क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले सडक सञ्जाल विस्तारदेखि स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सिँचाइ, सहकारी, पर्यटन, तटबन्धन, सामाजिक सुरक्षा र गरिबी निवारणसम्मका क्षेत्रमा एमालेको सक्रियताले जिल्लाको समग्र विकासमा आधार तयार पारेको उल्लेख गरे। अहिलेको निर्वाचन देशलाई स्थिरता र समृद्धिको बाटोतर्फ अघि बढाउने कि अराजकता र अस्थिरतातर्फ धकेल्ने भन्ने विषयमा केन्द्रित भएको उनको भनाइ थियो।
उनले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएर युवालाई दिग्भ्रमित गर्ने प्रयास भइरहेको भन्दै यस्ता गतिविधिबाट मुलुकलाई संकटतर्फ लैजान खोजिएको आरोप लगाए। वर्तमान विषम परिस्थितिमा राष्ट्रप्रति समर्पित नेतृत्वको आवश्यकता औंल्याउँदै उनले मकवानपुरका मतदातालाई स्थायित्व र विकासको पक्षमा उभिन आग्रह गरे।
आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्दै रानाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै वैदेशिक हस्तक्षेप अन्त्य गर्न, संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै लोकतन्त्रलाई थप सुदृढ बनाउन तथा देशमा शान्ति सुरक्षा सुनिश्चित गर्ने बताए। साथै भ्रष्टाचार र कुशासन अन्त्य गर्दै सुशासन स्थापना गर्ने, रोकिएका तथा अधुरा रहेका सडक, खानेपानी, सिँचाइ, विद्युत, स्वास्थ्य र शैक्षिक पूर्वाधार निर्माणका काम सम्पन्न गर्ने उनको प्रतिबद्धता रहेको छ।
उनले युवालाई प्राविधिक शिक्षा र सीपमूलक तालिममार्फत रोजगारीको अवसर सिर्जना गर्ने, कृषिलाई व्यवसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने तथा हेटौंडा औद्योगिक क्षेत्रको विस्तारसँगै मयुरधाप नयाँ औद्योगिक क्षेत्रको विकासलाई गति दिने योजना पनि अघि सारे।
त्यस्तै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने, पुराना बजारलाई आधुनिक बनाउने र ग्रामीण क्षेत्रमा नयाँ बजार विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। स्वास्थ्य बीमा सेवालाई पुनः व्यवस्थित गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको सेवा सुविधा विस्तार गर्ने उनले बताए।
सामुदायिक विद्यालय र क्याम्पसको भौतिक पूर्वाधार सुधार गरी प्रविधिमैत्री शिक्षा सुनिश्चित गर्ने, जिल्लाका सबै जाति, जनजाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षण गर्ने तथा मकवानपुरलाई देशकै उत्कृष्ट पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना पनि उनले प्रस्तुत गरे। पत्रकार सम्मेलनमार्फत रानाले मकवानपुर क्षेत्र नम्बर–१ का मतदातालाई सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन हार्दिक अपिल गरेका छन्।







