महिलाको दसैं : झनै कामको चाप
‘मेरो दसैं! बिहान ५ बजे उठें, नुहाएँ, चोखो लुगा लगाएँ, ५:३० मा भान्छामा पसें। एकसरो काम सकेर घडी हेर्दा २:२५ भएछ,’ नवमीको दिन दिउँसो ३:०७ बजे रचना श्रेष्ठले पोस्ट गरेको यो फेसबुक स्टाटसले धेरै महिलाको व्यस्ततालाई प्रतिनिधित्व गर्छ। उनको त्यो पोस्टमा कमेन्ट गर्ने सबैजसो महिलाले ‘सेम हेयर’, ‘मेरो त अझैसम्म सकिएको छैन, बस थकान मेट्न एकछिन बसेको’, ‘म त अब बिरामी नै पर्छु सायद’ लगायतका शब्द लेखेर कमेन्ट गरेका छन्।
यो पोस्टमा यो सामग्री तयारी पारुन्जेल ६७ वटा कमेन्ट छन्। पुरुषहरूको कमेन्ट कमै छ। भएका कमेन्टमा लेखिएको छ ‘हाहाहा टेक इट इजी’, ‘लौ देवी नै बिजी रैछौं, ह्यापी दसैं’, यस्तै यस्तै।
रचना कुनै सेलिब्रेटी होइनन्। उनी सामान्य परिवारको बुहारीमात्रै हुन्। दसैं लाग्नुभन्दा एक वा दुईसाता अगावैबाट महिलाको दैनिकीमा थप जिम्मेवारी थपिन्छ। दसैंका लागि काँक्रोको अचार बनाउँदै गरेकी सावित्री ढकाललाई ६ दिन अगाडि भेट्दा उनी भन्दै थिइन, ‘यति अचार बनाएर घाममा राख्छु, कपडा धुन भिजाएको छु। घरको सरसफाइ बाँकी नै छ। पाहुना आउँछन् राम्रो खुवाउनैपर्यो।’
अफिस २ दिन अगावै छुट्टी लिएर उनी दसैंको तयारीमा थिइन्। हरेक पर्वमा महिलाको काम थपिने बताउँछिन् उनी। उनले रचनालाई कमेन्ट गरेकी छन्, ‘दसैं हो कि दशा, एक छिन लामो श्वास लिने फुर्सद छैन।’
विशेषगरी नौरताको दिनबाट सुरु हुने व्यस्तताले पूर्णिमासम्म छाड्दैन महिलालाई। घरमा हुने पूजापाठ टीकाको लागि आउने अतिथिको स्वागत सत्कार, घरायसी सरसफाइमा महिलाको मात्रै उपस्थिति हुने हुनाले महिलाले पुरुषले जस्तो उल्लाषपूर्ण रुपमा दसैं मनाउन भ्याउँदैनन्।
‘उहाँहरू (श्रीमान-देवरहरू) तासमा रमाइलो मान्नुहुन्छ, कोही मदिरामा पनि रम्नुहुन्छ, हामी तास र मदिराबाट टाढा छौं। हामीलाई फुर्सद नै छैन,’ सुनिता तिमल्सिनाले भनिन्, ‘यसो साथीहरू भेटौं, घुम्न जाउँ, फोटो खिचौं भन्दाभन्दै रात परिसकेको हुन्छ, काम सकिन्न।’
यो त सहर बजारको कुरा भयो। गाउँघरको दसैं महिलाको कस्तो होला ? हामी सहजै अनुमान लगाउन सक्छौं, चुल्होमा बस, दाउरा बाल, दिनभरी आगोको राप, साझ बिहान गाईवस्तुको बन्दोबस्त गर। झनै सहरभन्दा गाउँका महिला कामको चापमा हुन्छन्।
‘दसैंको लागि घाँस र साेतरको जोहो गर, दाउराको जोहो गर, लिपपोतका लागि माटो ओसार, घरमा कमेरो लगाउ के-के हो के-के?,’ लक्ष्मी सन्जेल भन्छिन्, ‘यति नगरे हाम्रै इज्जत जान्छ, नगरेर के गर्नु?’
आफूले मान्दै आएको हरेक चाडपर्वमा समान सहभागिता जनाउन पाउनु महिला/पुरुष सबैको अधिकार हो। तर, घरभित्र काममा पुरुषले आफ्नो पनि जिम्मेवारी छ भनेर नबुझिदिँदा महिलालाई समस्या भएको बताउँछिल् जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी।
‘घरको काम गर्नमा कहिले पनि पुरुष अगाडि बढ्दैनन्, त्यो काम महिलाको नै हो भन्ने सोच छ,’ उनले भनिन्, ‘यसकारण महिलालाई कामको बोझ बढी हुने गरेको हो। पुरुषहरू वर्षदिनको चाडभन्दै रमाइलो गर्नतर्फ लाग्छन्, महिलाका लागि पनि त्यो चाड वर्ष दिनपछि नै आएको हो भन्ने पुरुषले कहिले बुझ्दैनन्।’ नेपाल न्युजबाट ।







