हेटौंडामा खाना पकाउने ग्यास सहज नहुँदा उपभोक्तालाई सास्ती
हेटौंडा । माघको पहिलो हप्तादेखि मकवानपुर जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ। बजारमा ग्यास सहज रुपमा उपलब्ध हुन नसक्दा हेटौंडा उपमहानगरपालिका तथा मनहरी, थाहा नगरपालिका लगायत ग्रामीण क्षेत्रका उपभोक्ता प्रभावित भएका छन्।
करिब एक महिनादेखि आपूर्ति प्रभावित हुँदा ग्यास डिलर तथा रिटेलर पसलमा खाली सिलिण्डर देखिन थालेको छ। उपभोक्ताले एक सिलिण्डर भर्नका लागि दिनौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको गुनासोसमेत आउन थालेको छ।
ग्यास शिलिण्डर प्राप्त गर्नका लागि अहिले निकै कठिनाइ भएको हेटौंडामा पढ्नका लागि बसेका बिद्यार्थीहरु बताउँछन् । यहाँका व्यावसायीहरु पनि ग्यास अभावका कारण थप समस्या बेहोर्दै छन् । उता गाउँमा पनि ग्यास अभावका कारण माघ महिनाको सुरुवात देखिनै समस्या भएको मकवानपुरगढी–५ का विश्वनाथ तिमल्सीना बताउँछन् ।
आपूर्तिमा देखिएको समस्यालाई समाधान गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गरिरहेको जनाएको छ। विभागले नेपाल आयल निगमलाई ग्यास ढुवानी र वितरण व्यवस्थापन सुदृढ बनाउन आवश्यक कदम चाल्न आग्रह गरेको छ।
यस्तै, विभागले ग्यास बोटलिङ उद्योगहरुलाई पूर्ण क्षमतामा उत्पादन बढाउन निर्देशन दिएको छ। काठमाडौं उपत्यकाका उद्योगको अनुगमनका क्रममा उपभोक्ताको मागअनुसार उत्पादन र वितरण बढाउन भनिएको भए पनि यसको प्रभाव जिल्ला स्तरमा तत्काल देखिन नसकेको मकवानपुरका व्यवसायीहरुको भनाइ छ।
मकवानपुरका ग्यास डिलर तथा सप्लायर्स कम्पनीहरुलाई उपभोक्ताको मागको प्रभावकारी अभिलेख राखी अनावश्यक सञ्चय हुन नदिई समन्यायिक वितरण गर्न निर्देशन दिइएको छ। साथै, उपभोक्ता तथा होटल, रेस्टुरेन्टजस्ता व्यावसायिक प्रतिष्ठानलाई आवश्यक परिमाणभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरिएको छ।
विभागले उद्योग स्तरदेखि ठूला सप्लायर्स र साना डिलरसम्म आपूर्ति श्रृंखलाको अवस्थाबारे अनुगमन तथा विश्लेषण गरिरहेको जनाएको छ। तर, हेटौंडा लगायत मकवानपुरका उपभोक्ताले भने तत्काल ग्यास सहज रुपमा उपलब्ध गराउन सरोकारवाला निकायसँग माग गरेका छन्।
चिसो मौसममा खाना पकाउने ग्यास अभाव हुँदा सर्वसाधारण परिवार प्रत्यक्ष प्रभावित भएका छन्। वैकल्पिक इन्धनको सहज व्यवस्था नहुँदा उपभोक्ता थप समस्यामा परेका छन्। सम्बन्धित निकायले शीघ्र आपूर्ति व्यवस्थापन सुधार गरी बजारमा ग्यास सहज गराउनुपर्ने स्थानीयको माग छ।







