राष्ट्रिय सभा निर्वाचनः बागमतीबाट कांग्रेस–एमाले गठबन्धनका गीता देवकोटा र प्रेमप्रसाद दंगाल निर्वाचित

जनपत्र
१२ माघ २०८२, आईतवार १८:०५

हेटौंडा। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी गीता देवकोटा र अन्य समूहबाट एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन्।

निर्वाचनमा नेकपा र नेपाल मजदुर किसान पार्टी नेमकिपाका उम्मेदवारसहित कुल ६ जनाबीच प्रतिस्पर्धा भएको थियो।

महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभाबाट ६० मत प्राप्त गर्दै ३ हजार १ सय ८० मतभार हासिल गरिन्। स्थानीय तहबाट १६१ मतसहित ३ हजार ५९ मतभार पाएपछि उनले कुल ६ हजार २ सय ३९ मतभारसहित विजय हासिल गरिन्।

अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मत प्राप्त गरी ३ हजार १ सय २७ मतभार पाए। स्थानीय तहतर्फ १६२ मतसहित ३ हजार ७८ मतभार प्राप्त गरेपछि उनको कुल मतभार ६ हजार २ सय ५ पुगेको थियो।

महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५ सय २२ मतभार प्राप्त गरिन् भने नेमकिपाकी कविता महर्जनले १ सय ९७ मतभार पाइन्। अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५ सय ४१ मतभार तथा नेमकिपाका विक्रम ढुकुछुले १ सय ९७ मतभार प्राप्त गरे।

बागमती प्रदेश सभाका ८९ जना प्रदेश सभा सदस्य र स्थानीय तहका २२९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३१८ मतदाताले मतदानमा सहभागिता जनाएका थिए। प्रदेश सभातर्फ ४ हजार ७ सय १७ मतभार र स्थानीय तहतर्फ ४ हजार ३ सय ५१ मतभार खसेको थियो। कुल खसेको मतभार ९ हजार ६८ रहेको निर्वाचन कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*