केभी–२०४०’ मा प्राविधिक पक्षसँगै ‘संस्थागत सुधार’ लाई पाँचौँ स्तम्भ बनाउन मन्त्री डा. देवकोटाको सुझाव
ललितपुर – बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले काठमाडौँ उपत्यकाको दीर्घकालीन विकासका लागि प्रस्तावित ‘काठमाडौँ उपत्यका–२०४०’ ९केभी–२०४०० परियोजनामा प्राविधिक पक्षसँगै ‘नीतिगत तथा संस्थागत सुधार’ लाई पनि उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।
अर्थ मन्त्रालयद्वारा शुक्रबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आयोजित ‘केभी–२०४०’ परामर्श कार्यशालालाई सम्बोधन गर्दै मन्त्री डा। देवकोटाले यस्तो धारणा राख्नुभएको हो। उहाँले परियोजनाका लागि प्रस्तावित चारवटा प्राविधिक स्तम्भले मात्र उपत्यकाका विद्यमान समस्या समाधान नहुने औँल्याउँदै पाँचौँ स्तम्भका रूपमा ‘नीतिगत तथा संस्थागत सुधार’ लाई समावेश गर्न अपरिहार्य रहेको जिकिर गर्नुभयो।
“नेपालमा प्राविधिक ज्ञान र परामर्शदाताको अभाव छैन, यसमा हामी सक्षम छौँ,” मन्त्री डा। देवकोटाले भन्नुभयो, “तर कमजोर संस्थागत संरचना र सुशासनको अभाव नै मुलुक विकासमा पछाडि पर्नुको मुख्य कारण हो । तसर्थ, परियोजना सफल बनाउन ‘परिवर्तनको सिद्धान्त’ आत्मसात् गर्दै संघ, प्रदेश र स्थानीय तहको कार्यगत संरचनामै सुधार गर्नुपर्छ।”
काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकाहरूलाई समेटेर एकीकृत विकास गर्ने लक्ष्य लिएको यस परियोजनामा प्रदेश सरकार स्थानीय तह र संघीय सरकारबीच ‘पुल’को काम गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । फोहोरमैला व्यवस्थापन, मेट्रो रेल वा रत्नपार्क–थानकोट र बुढानीलकण्ठ–जमलजस्ता ठूला ‘कनेक्टिभिटी’ का आयोजनाहरू एउटा मात्र नगरपालिकाको प्रयासले सम्भव नहुने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “पालिकाहरूलाई आपसमा जोड्ने संवैधानिक अधिकार प्रदेश सरकारसँग छ। तसर्थ, ४–५ वटा पालिकाहरूलाई समेटेर ‘एकीकृत अवधारणा’ मा ठूला आयोजना अगाडि बढाउनुपर्छ । यसका लागि आवश्यक ऐन र निर्देशिका बनाएर सहजीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”
नयाँ परियोजनाको डिजाइन गर्दा विगतका सफल अभ्यासहरूबाट पाठ सिक्नुपर्नेमा मन्त्री देवकोटाले जोड दिनुभयो। उहाँले उच्चस्तरीय बागमती सुधार आयोजना, विश्व बैंकको सहयोगमा भएको पाटनको संस्कृति संरक्षण र एसियाली विकास बैंक ९एडीबी० को सहयोगमा चितवनमा सफल भएको जग्गा एकीकरणको मोडेललाई केभी–२०४० मा समावेश गर्न सुझाव दिनुभयो ।
संघीय सरकारका कार्यालयहरू प्रदेशमा गएर उस्तै संरचना खडा गर्नुभन्दा प्रदेशलाई नै जिम्मेवार बनाउनु उपयुक्त हुने मन्त्री देवकोटाको तर्क थियो । “हामीसँग आफ्नै राजस्व प्रणाली छ, हामी ऋण फिर्ता गर्ने दायित्व लिन र सह–लगानी गर्न तयार छौँ,” उहाँले भन्नुभयो, “केभी–२०४० मा प्रदेशको स्पष्ट भूमिका र अपनत्व सुनिश्चित गरिनुपर्छ ।” साथै, प्रदेशमा सहरी विकाससम्बन्धी जनशक्तिको अभाव रहेको स्वीकार गर्दै उहाँले क्षमता अभिवृद्धिमा सघाउन विकास साझेदारहरूसँग आग्रह गर्नुभयो ।
बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सचिवले नेपाल सरकारको उच्चस्तरीय समितिले प्रदेश सरकारलाई चिन्ने अवस्थाको अन्त्य गर्न ऐन कानुनमा सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ सोचका साथ अघि बढ्दै प्रदेश सरकार र स्थानीय तहहरूबीच सुदृढ समन्वय स्थापित गर्न, संस्थागत संरचनाको विकासका लागि यस्ता परियोजनाहरूमा उल्लेख हुनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, प्रादेशिक सडक गुरुयोजनामार्फत ग्रामीण र सहरी क्षेत्रलाई सडक सञ्जालले जोड्न बागमती प्रदेशभर ६,४०० किलोमिटर सडक निर्माण कार्य अघि बढाइएको कुरा उहाँले जानकारी गराउनुभयो । साथै, स्थानीय तह र सरकारसँग मिलेर बस्ती विकास तथा फोहोर मैला व्यवस्थापनका कार्यक्रमहरू समेत अगाडि बढाइएको कुरा उहाँले प्रस्तुत गर्नुभयो ।
नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंकको सहकार्यमा काठमाडौँ उपत्यकालाई सन् २०४० सम्म थप बस्नयोग्य, प्रतिस्पर्धी र लचिलो सहरका रूपमा रूपान्तरण गर्ने उद्देश्यले यो गुरुयोजना तयार गर्न लागेको हो ।
प्रारम्भिक अध्ययनमा हरित सहरी क्षेत्र तथा सम्पदा–आधारित पर्यटन, दिगो सहरी यातायात र कनेक्टिभिटी, ठोस फोहोर व्यवस्थापन तथा सहरी वातावरणीय पुनस्र्थापना र जोखिम न्यूनीकरण गरी चारवटा प्राथमिक क्षेत्र पहिचान गरिएको छ ।
अर्थ सचिव डा घनश्याम उपाध्यायको अध्यक्षतामा भएको कार्यशालामा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, सहरी विकास मन्त्री प्रा। डा। कुमार इङ्नाम लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका सहसचिव डा। धनिराम शर्माले ‘काठमाडौँ उपत्यका–२०४०’ प्लेटफर्मको रणनीतिक औचित्य, यसका चार प्रमुख स्तम्भ र लगानी प्राथमिकतामा नगरपालिकाहरूको भूमिकाबारे विस्तृत प्रस्तुतीकरण दिनुभएको थियो । विश्व बैंक र एसियाली विकास बैंकका विज्ञहरूले अन्तर्राष्ट्रिय अनुभव र परियोजनाको संरचनाबारे प्रकाश पार्नुभएको थियो ।







