भीमफेदी सुमो दुर्घटनाप्रति एमाले संसदीय दल बागमतीको दुःख व्यक्त
हेटौंडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६, जुरीखेतस्थित सडक खण्डमा पौष २० गते भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु तथा ३ जना गम्भीर घाइते भएको घटनाप्रति नेकपा एमाले संसदीय दल, बागमती प्रदेशले गहिरो दुःख व्यक्त गरेको छ।
संसदीय दलले विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाले नेता जगन्नाथ थपलियाले आफूहरूलाई अत्यन्तै स्तब्ध बनाएको जनाएको छन् । दुर्घटनामा ज्यान गुमाउने सबै दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
विज्ञप्तिमा दुर्घटनामा संलग्न सवारी साधन पुरानो रहेको तथ्य सार्वजनिक भएको उल्लेख गर्दै सवारी साधनको अवस्था, मापदण्ड र नियमित प्राविधिक परीक्षणमा कमजोरी हुँदा यस्ता दुःखद घटनाहरू दोहोरिन सक्ने जोखिम बढेकोप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।
एमाले संसदीय दलले यस्ता दुर्घटना पुनः नदोहरिन दिन सवारी साधनको आयु निर्धारण, नियमित फिटनेस परीक्षण, सञ्चालन मापदण्ड तथा स्पष्ट समय–सीमा तोकी कडाइका सा थ कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै सडक सुरक्षालाई उच्च प्राथमिकतामा राखी प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरिएको छ।








