मकवानपुरमा अवैध चौपाया ओसारपसारमा संलग्न १० जना नियन्त्रण, ८५ वटा चौपाया बरामद
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयहरूले तीन महिनाको अवधिमा अवैध रूपमा ल्याइएका ८५ वटा चौपाय (गाई–गोरु ९ वटा) सहित र ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । सो क्रममा १० जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए ।
प्रहरीले सार्वजनिक गरिएको विवरणअनुसार, विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा चौपाय ओसारपसार गरिएको फेला पारेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिएका चौपाय, सवारी साधन र व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि पशुसेवा कार्यालय हेटौंडा, मकवानपुर पठाइएको छ । उक्त अवधिमा भएका ६ वटा कारबाहीमध्ये ३ वटा घटनामा मुद्दा दर्ता गरिएको र बाँकी घटनामा सम्बन्धित व्यक्तिहरूलाई जरिवाना स्वरूप कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार अवैध चौपाय ओसारपसार तथा पशु कल्याण विपरीतका गतिविधि नियन्त्रण गर्न नियमित रूपमा सवारी चेकजाँच र निगरानीलाई निरन्तरता दिइने जनाइएको छ ।







