मनहरीबाट ५३ किलो गाँजासहित ७ जना पक्राउ
मकवानपुर । जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गएराति चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७७०१ नम्बरको यात्रुबाहक बसलाई शंका लागी रोकी खानतलासी गर्दा लुकाई–छिपाई ल्याइएको अवस्थामा ५३ किलो ५७० ग्राम गाँजा बरामद गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–९ अठारे घर भई हाल चितवन राप्ती नगरपालिका–१ पिप्ले बस्ने ४८ वर्षीय होमराज अधिकारी, मकवानपुर राक्सिराङ गाउँपालिका– ९ अठारे बस्ने ३० वर्षिय हिरालाल प्रजा, १९ वर्षिय सुकराम प्रजा, १९ वर्षिय राम शरण प्रजा, २५ वर्षिय विन्दु माया प्रजा, २९ वर्षकी रन्जिता प्रजा र ३० वर्षकी सुक्रमाया प्रजालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई लागू औषध मुद्दामा नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागू औषध ओसारपसार तथा कारोबारमा संलग्न अन्य व्यक्ति र सञ्जालबारे समेत अनुसन्धान अघि बढाइएको छ।







