मकवानपुरमा ४७० किलो गाँजासहित बोलेरो नियन्त्रणमा, चालक फरार

जनपत्र
२६ मंसिर २०८२, बिहीबार १८:३३

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत कालिटार, नामटार क्षेत्रमा लामो समयदेखि लुकाइछिपाई लागू औषध गाँजा ओसार पसार हुँदै आएको भन्ने गोप्य सूचनाको आधारमा गरिएको प्रहरी निगरानीबाट ४७० किलो गाँजा सहित बोलेरो पिकअप गाडी बरामद भएको छ। गाडी रोक्न खोज्दा चालक फरार बनेपछि प्रहरीले पछ्याउँदै गएर गाडी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान ९ बजे नामटारतर्फबाट भैसेतर्फ आउँदै गरेको बा १७ च ४२ नंबरको बोलेरो पिकअपलाई प्रहरीले शंकाको आधारमा रोक्न संकेत गरे पनि गाडी नरोकी भागेपछि विशेष प्रहरी टोलीले पछ्याउने कार्य सुरु गर्‍यो।

पछ्याउने क्रममा भीमफेदी गाउँपालिका–३, पान्द्राङस्थित ढुङ्गाखानी जाने भित्री बाटोमा गाडीका चालकले गाडी लक गरी फरार भएपछि प्रहरीले गाडीको चेकजाँच गरेको थियो। सो क्रममा गाडीको पछाडिको ढालामा १७ बोरामा राखिएको, रातो प्लास्टिकले बेरिएको अवस्थामा ५० पोकामा ४७० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा तथा बोलेरो गाडीलाई प्रहरीले नियन्त्रणमा लिई लागू औषध कसुरमा मुद्दा दर्ताका लागि प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले हाल फरार रहेका गाडी चालक, सवारीधनी तथा सो ओसार–पसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीका अनुसार अवैध कारोबारमा संलग्न समूहलाई नियन्त्रणमा ल्याउन प्रहरीको निगरानी अझै कडा बनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*