बकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माण
हेटौंडा / एउटै छानाबाट पालिकाको सेवाहरु उपलब्ध गराउने उद्देश्यले मकवानपुरको पूर्वी क्षेत्रमा रहेको एक गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सकेको छ । उक्त भवनको बुधबार उद्घाटन कार्यक्रम रहेको छ ।
जिल्लाकै जनसंख्या र भूगोलको हिसाबले ठूलो बकैया गाउँपालिकाको केन्द्र रहेको हात्तीसुँडेमा चार तले ३२ कोठे भवन निर्माण गरिएको छ । २०७९ असारदेखि निर्माण कार्य सुरु गरिएको थियो । पछिल्लो पटकको म्याद थप अनुसार ०८२ भदौ मसान्तसम्म निर्माण कार्य सकिसक्नुपर्ने थियो । उक्त समयमै निर्माण कार्यसकेर पालिकालाई भवन हस्तान्तरण गरिसकेको छ । तर ‘उद्घाटन गर्न बाँकी थियो बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले भने‘बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।’
आर्शिवाद सञ्जय सुवानी जेभी निर्माण कम्पनीले निर्माण कार्यको ठेक्का लिएको थियो । करिब १२ कट्ठा जमिनमा ७ करोड ९५ लाखको लागतमा उक्त कार्यालय भवन निर्माण गरिएको हो । उक्त भवनमा पालिकाको कार्यालय र शाखाहरु सबै एउटै छानामुनि रहने छन्,’ पालिकाका अध्यक्ष लामिछानेले भने,‘यो पालिकाको ‘सिंहदरबार’नै हो ।’
बकैया गाउँपालिकाको कार्यालय अहिले हात्तीसुँडेमा नै छ । एक नाले भवनबाट पालिकाका बासिन्दालाई सेवा दिँदै आएको छ । मकवानपुरका १० वटा पालिकामध्ये मनहरी र इन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।







