बागमती प्रदेश स्वास्थ्य कार्यक्रमको १३ बुँदे प्रतिवद्धता सार्वजनिक

जनपत्र
४ मंसिर २०८२, बुधबार ०८:४०

हेटौंडा। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालय हेटौडाले बितेको आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गर्दै १३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ।

कात्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म हेटौंडामा सम्पन्न समीक्षा गोष्ठीमा प्रदेशभरका स्वास्थ्य सेवा, कार्यक्रम, चुनौती र सुधारका उपायबारे विस्तृत विश्लेषण तथा छलफल गरिएको थियो।

गोष्ठीले प्रदेश स्वास्थ्य नीति दोस्रो आवधिक योजना तथा राष्ट्रिय–अन्तराष्ट्रिय स्वास्थ्य प्रतिवद्धतालाई आधार मानेर आगामी वर्ष स्वास्थ्य क्षेत्रमा लागू गर्नुपर्ने प्रमुख प्राथमिकता र सुधारका दिशाहरूको प्रतिवद्धता जनाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गोष्ठीमार्फत आगामी आव २०८२–८३ मा प्रदेश स्वास्थ्य क्षेत्रको रणनीतिक योजना तयार गरी कार्यान्वयन गरिने पहिलो प्रतिवद्धता गरिएको छ। साथै प्रदेशमातहतका सबै अस्पताल र आयुर्वेदरवैकल्पिक चिकित्सालयमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली पूर्ण रूपमा लागू गर्ने निर्णय गरिएको छ।

‘बागमती प्रदेश हेल्थ डिजिटालाइजेसन’ कार्यक्रमअन्तर्गत भक्तपुर, हेटौंडा र विशुली अस्पताललाई टेलिमेडिसिन सेवा हबका रूपमा विकास गर्दै प्रदेशका कम्तीमा १५ अस्पताललाई स्पोक अस्पतालका रूपमा विस्तार गरिनेछ।

नसर्ने रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै सबै वडामा स्क्रिनिङ कार्यक्रम तथा “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी—एक घण्टा मेरा लागि” अभियानसँगै योग, ध्यान र प्राणायाम कार्यक्रम सञ्चालन गर्न प्रदेशले प्रतिवद्धता जनाएको छ।

प्रदेशभरका अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न “प्रदेश विशेषज्ञ प्रोत्साहन कार्यक्रम” लागू गरिने भएकाले दुर्गम क्षेत्रका नागरिकले विशेषज्ञ सेवा सहजै पाउने अपेक्षा गरिएको छ।

स्थानीय तहको अग्रसरतामा “स्वस्थ शहर अवधारणा कार्यान्वयन गरिने तथा स्वास्थ्यलाई सबै सार्वजनिक नीतिमा मुख्यधारमा ल्याइने निर्णय पनि गोष्ठीमा पारित गरिएको छ।

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि अस्पतालमा समर्पित सम्पर्क व्यक्ति तोक्दै स्थानीय तहसँगको सहकार्यमा अन्तिम विसर्जन गरिनेछ। त्यसैगरी दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी विशेषज्ञसहितको एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्धन अभियान सञ्चालन गरिने तथा आवश्यकताअनुसार निजी अस्पताललाई स्वास्थ्य शिविर सञ्चालनमा जवाफदेही बनाइने बताइएको छ।

प्रदेशमा सञ्चालन हुँदै आएको स्वर्णविन्दु प्राशन कार्यक्रमलाई थप व्यवस्थित गरी सबै जिल्लामा विस्तार गरिने र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमार्फत योग, ध्यान, पूर्वकर्म तथा पञ्चकर्म सेवाको पहुँच बढाइने प्रतिवद्धतामा उल्लेख छ ।

काठमाडौँ उपत्यकासहित ठूला शहरहरूमा अस्थायी रूपमा बसोबास गर्ने तथा चलायमान समुदायको स्वास्थ्य संकटासन्नता नक्शाङ्कन गरी तिनलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिने प्रदेशको अर्को महत्वपूर्ण प्रतिवद्धता गरिएको स्वास्व्य निर्देशनालय हेटौंडाले जनाएको छ ।
आपतकालीन अवस्थामा न्यूनतम स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई सुदृढ बनाइने तथा सबै जिल्लाको अद्यावधिक गरी लागू गरिने पनि गोष्ठीले निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी जनशक्ति तथा संरचना स्तरोन्नति गरिने, प्रदेश स्वास्थ्य सुशासन सूचक तयार गरी संस्थागत सुशासन, जवाफदेहिता र पारदर्शिता बढाइने तथा सबै खरिद कार्य बोलपत्र प्रणालीमार्फत गरिने व्यवस्था लागू गरिनेछ।

पुराना र प्रयोगमा नआउने उपकरण तथा औषधि जिन्सी निरीक्षणपछि लिलाम गर्ने तथा जिन्सी प्रणालीलाई व्यवस्थित बनाउने निर्णयसहित गोष्ठीले १३ बुँदे प्रतिवद्धता पत्र जारी गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रतिवद्धताहरू कार्यान्वयनमा आए प्रदेशभरको स्वास्थ्य सेवा अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बन्ने विश्वास लिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*