मकवानपुरबाट ८ हजार क्याप्सुल ट्रामाडोलसहित ५ जना पक्राउ
हेटौँडा/ प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सानो पोखराबाट ठुलो परिमाणमा लागुऔषध (ट्रामाडोल) बरामद गरेको छ । बिहीबार ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
लागुऔषध कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजीव लामा, बकैया गाउँपालिका–१२ घर भएका १९ वर्षीय अशोक स्याङतान, हेटौँडा–१७ बस्ने २० वर्षीय प्रवेश बरैली, हेटौँडा–४ बस्ने २० वर्षीय निशान कोइराला र मकवानपुरगढी गाउँपालिका–२ बस्ने २३ वर्षीय दीपेश सञ्जेल छन् ।
लागुऔषध ओसारपसारमा संलग्न बक्सर भनेर चिनिने रवि लामा यसअघि बलात्कार मुद्दामा ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । खाल्डो खनेर ट्रामाडोल लुकाउन लागेको अवस्थामा विशेष सुराकको आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी बोहराले बताए । आरोपीहरू विरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ ।







