एमाले बागमती संसदीय दलको आह्वानः शान्ति, कानुन र संविधानको पक्षमा एकताबद्ध हुन आग्रह

जनपत्र
२७ आश्विन २०८२, सोमबार १९:१३

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले हाल देखिएका अराजकतामूलक, हिंसात्मक तथा देशविरोधी गतिविधिहरूको कडा निन्दा गर्दै शान्ति, स्थायित्व र संवैधानिक व्यवस्थाको पक्षमा सबै दल, नागरिक समाज र जनसमुदायलाई एकताबद्ध हुन आह्वान गरेको छ।

संसदीय दलको कार्यालय, हेटौंडामा असोज २४ गते बसेको बैठकले समसामयिक राजनीतिक अवस्था, सभामुख पदको रिक्तता, आउँदो प्रदेशसभा बैठक र हालका प्राकृतिक विपत्तिहरूबारे गम्भीर समीक्षा गरेको थियो। बैठकले ती विषयहरूमा लिएको निर्णय सार्वजनिक गर्न आज संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रेस विज्ञप्ति जारी गर्नु भएको हो।

बैठकले गत भदौ २३ गते भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै शोक व्यक्त गरेको छ। साथै, आन्दोलनका पछिल्ला चरणहरूमा देशका विभिन्न स्थानमा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनाहरूको कडा निन्दा गर्दै यस्तो क्रियाकलापले लोकतान्त्रिक अभ्यासमा धक्का पुर्‍याएको उल्लेख गरेको छ।

विज्ञप्तिमा विशेष गरी सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, विभिन्न व्यावसायिक प्रतिष्ठान, तथा राजनीतिक दलका नेताहरू र व्यक्तिहरूका निजी आवासमा भएका आक्रमण र क्षतिप्रति गम्भीर आपत्ति प्रकट गरिएको छ।

बैठकले यस्ता देशविरोधी, अराजकतामूलक र अपराधजन्य गतिविधिमा संलग्न व्यक्ति र समूहहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायहरूसँग माग गरेको छ। साथै, बाह्य प्रभाव प्रवाह गर्ने र राजनीतिक द्वन्द्व उक्साउने सबै प्रयासहरूको खण्डन गर्दै बैठकले लोकतान्त्रिक र संस्थागत मान्यताको सुरक्षा र सम्मान गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने निष्कर्ष निकालेको छ।

बैठकले प्रदेश तथा केन्द्र सरकारलाई शान्ति र सुरक्षाका उपायहरू सुदृढ पार्न, पीडितहरूलाई न्याय दिलाउन, र पुनर्निर्माण तथा राहत कार्यलाई तीव्रता दिन पनि आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*