जेन्जी आन्दोलनलाई देशी–विदेशी शक्तिले ‘हाइज्याक’ गरे– अध्यक्ष थापा
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन्जी युवा पुस्ताको आन्दोलनलाई देशी–विदेशी शक्तिहरूले ‘हाइज्याक’ गरेको आरोप लगाएका छन्। आज हेटौंडामा राप्रपा नेपाल मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले देशमा देखिएको हालको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलता भएको दाबी गरे।
थापाले भने, “विगतमा भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि राप्रपा नेपालले निरन्तर आन्दोलन गरेको थियो। त्यसबेला सफल हुन नसके पनि जेन्जी पुस्ताको त्याग र बलिदानले परिवर्तनको ढोका खोलेको हो। अब भ्रष्टाचार र कुशासनको अन्त्य हुनेछ।”
उनीका अनुसार जेन्जी आन्दोलनमार्फत जनताले भ्रष्टाचार अन्त्य र सुशासनको आशा गरेका थिए तर भदौ २४ गते मध्यरातमा देशी–विदेशी शक्तिहरूले ठूलो जुक्ति लगाएर आन्दोलनलाई हाइज्याक गरे र परिवर्तनको चाहनालाई ‘तुसारापात’ गरे। “गणतन्त्रका अवशेषहरूले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिने घोषणा गरे,” उनले भने।
अध्यक्ष थापाले अहिलेका प्रमुख दलहरू कांग्रेस र कम्युनिस्ट, संविधानको दुहाइ दिएर भ्रष्ट व्यवस्थालाई जोगाउन खोजिरहेको आरोप लगाए। “विगतमा सडकबाट व्यवस्था परिवर्तन गर्न नारा दिने दलहरू अहिले निर्वाचनको विरोधमा छन्,” उनले भने, “जनताले अब यी दलहरूलाई कुनै पनि हालतमा भोट दिने छैनन्।”
थापाले मुलुकमा देखिएको संकटको मूल कारण संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलता भएको दोहोर्याउँदै भने, “यो विषयलाई सम्बोधन नगरी यथास्थितिलाई निरन्तरता दिनु भनेको जेन्जी आन्दोलन र जनताको चाहनाप्रति बेइमानी गर्नु हो।”
उनीले राज्य संरचना, निर्वाचन प्रणाली, संवैधानिक परिषद् र न्याय परिषद् सम्बन्धी व्यवस्था यथावत् राखेर गरिने निर्वाचनको कुनै औचित्य नरहेको बताए।
प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै उनले प्रश्न गरे, “वर्तमान निर्वाचन प्रणाली, संवैधानिक निकायमा नियुक्तिको व्यवस्था, राज्य संरचना र शासकीय स्वरूप जस्ताको तस्तै राखेर कसरी परिवर्तन सम्भव हुन्छरु यही प्रणालीमा चुनाव गरेर राजनीतिक स्थिरता आउँछ भन्ने ग्यारेन्टी प्रधानमन्त्रीले दिन सक्नुहुन्छरु”
थापाले जेन्जी युवाहरूको आन्दोलन सङ्गठित नहुँदा परिवर्तनको ठोस खाका नआएको उल्लेख गर्दै भने, “आन्दोलनको मूल लक्ष्य भ्रष्टाचार र कुशासन अन्त्य थियो। तर सडकमा प्रदेश संरचनाको खारेजी, हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको पुनःस्थापनाका मागहरू पनि उठेका थिए। ती सबै माग तुरुन्त पूरा गर्न नसके पनि सर्वपक्षीय छलफल गर्न सकिन्थ्यो, तर सरकार त्यसतर्फ लागेको देखिँदैन।”
उनका अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भवनहरू ध्वस्त हुनु लोकतन्त्र माथिको प्रहार हो। “सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत सुरक्षित छैनन् भने जनता कसरी सुरक्षित रहनेरु” उनले प्रश्न गरे। “कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भवनहरू ध्वस्त गरिनु सम्भवतः विश्व इतिहासकै पहिलो घटना हो।”
थापाले हालको अन्तरिम सरकारले जनतालाई कसरी आश्वस्त पार्ने भन्ने चुनौती रहेको बताए। मुलुकमा विद्यमान विषम परिस्थितिलाई दृष्टिगत गर्दै उनले राष्ट्रको सुरक्षा र राप्रपाको एजेन्डा— हिन्दूराष्ट्र, राजसंस्था र सुशासन—को रक्षाका लागि सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण अहिलेको आवश्यकता हो।” कार्यक्रममा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, गुरु सापकोटा, मन डिसी, दिलबहादुर बल, रमेश चौलागाईं र भृगु कार्कीलगायतले पनि मन्तव्य दिएका थिए।







