हेटौंडाका ५३ जना सरसफाइ मजदुर सामाजिक सुरक्षा कोषमा आबद्ध
हेटौंडा — हेटौंडा उपमहानगरपालिकामा फोहोर संकलन तथा व्यवस्थापन गर्ने मजदुरलाई स्वास्थ्य तथा सुरक्षाका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ । उपमहानगरपालिकाको दैनिक सरसफाइमा काम गर्ने मजदुरलाई सुरक्षा कोषमा संलग्न गराउने कार्यक्रमको मेयर मीनाकुमारी लामाले बिहीबारर शुभारम्भ गरिन् ।
‘हेटौंडा नगरलाई सधैं सफा सुग्घर र स्वच्छ बनाउने कार्यमा संलग्न रहँदै आएका मजदुरहरुको वृत्ति विकासका निम्ति ग्रिन एन्ड क्लिन सिटीले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यको सुरुवात गर्यो । यो प्रशसंनीय छ,’ उनले भनिन् ।
डा. आशिष खनाल र उपमहानगरपालिका-१० का अध्यक्ष फुर्वा दोर्जे तामाङले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि त्यसबाट लाभग्राहीलाई हुने फाइदाका बारेमा जानकारी गराएका थिए ।
उपमहानगरको फोहोर व्यवस्थापन साझेदारी सस्था हेटौंडाको ग्रिन एन्ड क्लिन सिटीले फोहोर संकलन र व्यवस्थापनको काम गर्दै आएको छ । फोहोर संकलन र व्यवस्थापन कार्यमा २१ महिलासहित ५३ मजदुर कार्यरत छन् । हेटौंडामा २०६६ सालदेखि फोहोर संकलन र व्यवस्थापन गर्दै आएको सिटीले दैनिक २६ टन फोहोर संकलन गर्दै आएको यसका सञ्चालक नवराज खतिवडाले बताए । मजदुरहरुको दिर्घकालिन हितका लागि भनेर यो कार्यक्रम ल्याइएको अध्यक्ष खतिवडाले बताए ।







