मकवानपुरका दुर्गम बस्ती पक्की सडकले सुगम बन्दै
मकवानपुर — कहिल्यै सरकारी कर्मचारी जान नमान्ने र “डाँडाकाँडाको विकट गाउँ” भनेर चिनिने मकवानपुरका ग्रामिण बस्तीहरू पछिल्ला केही वर्षयता क्रमशः सुगम बन्दै गएका छन् । तीनै तहका सरकारले विशेषतः स्थानीय तहको सक्रिय लगानीले बस्ती–बस्तीमा पक्की सडक र पुल निर्माण भएपछि दुर्गम मानिएका क्षेत्रमा अहिले स्वास्थ्य सेवा र कृषिजन्य उत्पादनको बजारिकरण सहज भएको छ ।
संघीयता सुरु हुनुअघि सम्म सडक सञ्जालको नाम मात्र रहेको र वर्षायाममा महिनौँसम्म यातायात बन्द हुने यी बस्तिहरूमा अहिले वर्षैभरि सवारी साधन चल्ने सडकको पहुँच पुगेको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का श्याम रुम्बा बताउँछन् । “पहिला बिरामी परे बोकेर घण्टा हिँड्नु पर्थ्यो, अहिले गाउँबाटै एम्बुलेन्स चल्ने भएको छ,” उनले भने ।
बितेका पाँच वर्षयता मात्रै मकवानपुरका १० वटा स्थानीय तहमा दर्जनौ सडकहरु पक्की बनेका छन् र खोलामा पुल निर्माण गरिएको छ । गाउँगाउँ जोड्ने सडक कालोपत्र र ढलान भएको स्थानीय वासिन्दाहरु बताउँछन् ।
प्रदेश र संघीय निकायको समन्वयमा स्थानीय तहहरूले प्राथमिकताका आधारमा बस्ती छिर्ने सडक, कल्भर्ट र साना पुल निर्माण गर्दा ग्रामीण क्षेत्रमा ठूलो सहजता आएको हेटौंडा–१९ का मोहल लामा बताउँछन् । बिकट गाउँका बस्तीमा सडक निर्माण भएपछी मकवानपुरको राक्सिराङ, कैलाश, बागमती, मनहरी, इन्द्रसरोवर, थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका, भीमफेदी गाउँपालिकाका कृषकहरूको तरकारी तथा दूध सिधै हेटौँडा बजार पुग्न थालेको छ ।
इन्द्रसरोवर–३ का कृषक सोमबहादुर गोले भन्छन्, “अगाडि तरकारी र फलफूल बोकेर पैदल हिँड्थ्यौं, अहिले चाहिँ घरमै ट्रक आउँछ, बारीबाटै बेच्न पाएका छौं ।”
जिल्लाको सबैजसो स्थानीय तहका प्रत्यक वडामा अहिले सडकसँगै बिजुली, खानेपानी र स्वास्थ्य चौकीको पहुँच पुगेको स्थानीय तहहरूले बताएका छन् । स्थानीय जनप्रतिनिधिहरुका अनुसार सुरुवाती चरणमा सडकको खोल्ने काम मात्र भएकाले वर्षायाममा ठप्प हुने समस्या थियो । तर पछिल्लो समय स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा ती सडक स्तरोन्नति र स्लाब ढलान गर्न सकिएको हो ।







