बागमती प्रदेशमा मन्त्रीपरिषद्ले पायो पूर्णताः पाँच नयाँ मन्त्रीले लिए शपथ
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त पाँच जना मन्त्रीले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, उर्मिला केसी नेपाल र बिनु रायमाझीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार गठनको दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्रिमण्डलमा समेट्दै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। यसअघि २० साउनमा आफूसहित आठ मन्त्री नियुक्त गरेका बानियाँले दस दिनपछि दोस्रो चरणमा थप पाँच मन्त्री नियुक्त गरेका हुन्।
शपथ लिएसँगै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी काभ्रेका कञ्चनचन्द्र बादेले पाएका छन् भने आर्थिक मामिला तथा योजना मन्त्रालय रसुवाका प्रभात तामाङले सम्हाल्नेछन्। ललितपुरकी अर्मिला केसी नेपाल युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा पुगेकी छन्। भक्तपुरका सुरेश श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालय र चितवनकी बिनु रायमाझीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय जिम्मा दिइएको छ।
यस्तै, २० साउनमै नेपाली कांग्रेसबाट खानेपानी, ऊर्जासहित सिँचाइ मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र विभाग तोकिन बाँकी राखेर धादिङका शिवराज अधिकारीलाई मन्त्री बनाइएको थियो। मन्त्रालय बाँडफाँटपछि अधिकारीले संस्कृति तथा पर्यटन मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका छन्।
यसअघि नेकपा एमालेबाट सरकारमा सहभागी हुँदै ललितपुरका मधुसूदन पौडेल कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसी वन तथा वातावरण, काठमाडौंका जयरथ थापा श्रम, रोजगार तथा यातायात तथा बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो। यससँगै बागमती प्रदेशमा गठन भएको बानियाँ नेतृत्वको मन्त्रिमण्डलले पूर्णता पाएको छ।








