बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध एक सातासम्म खोप अभियान सञ्चालन हुने
मकवानपुर । लम्पी स्किन रोगबाट हुने क्षति न्यूनीकरण गर्न बागमती प्रदेश सरकारले प्रदेशव्यापी रुपमा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उपचारको प्रभावकारी विकल्प नभएको यो रोग नियन्त्रणका लागि आगामी सोमबारदेखि आइतबारसम्म प्रदेशका १३ वटै जिल्लामा खोप अभियान सञ्चालन गरिने छ ।
शुक्रबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा वरिष्ठ पशु विकास अधिकृत डा राम प्रकाश प्रधानले यस वर्ष १ लाख २० हजार गाईभैंसीमा खोप लगाउने लक्ष्य लिइएको जानकारी दिनुभयो । गाई–भैंसीमा लम्पी स्किन रोग देखिएपछि उच्च ज्वरो आउने, शरीरभर गिर्खा देखिने, खुट्टा र जोर्नी सुन्निने, हिँड्न गाह्रो हुने, थुनेलो देखिने र दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने जस्ता लक्षण देखा पर्ने बताइएको छ ।
गत आर्थिक वर्षमा प्रदेशभर ७१ हजार ९७७ वटा पशुमा खोप लगाइएको थियो । नेपालमा यो रोग पहिलो पटक वि।सं। २०७७ साल असारमा प्रमाणित भएको हो । हालसम्म देशका ७७ वटै जिल्लामा रोग फैलिसकेको छ ।
लम्पी स्किनका कारण अहिलेसम्म झण्डै ७५ अर्ब ४८ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान मन्त्रालयले गरेको छ । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले सम्भावित क्षति न्यूनिकरणका लागि पूर्वतयारीका रूपमा खोप अभियानको घोषणा गरिएको बताउनुभयो ।
यो वर्ष साउनदेखि भदौसम्मको अवधिमा मात्रै ७४ वटा पशुको मृत्यु भएको छ भने १ हजार ६३३ पशु प्रभावित भएका छन् । यी सबै तथ्यांक मकवानपुर, सिन्धुली, काभ्रे र चितवन जिल्लाका हुन् ।
यस वर्ष खोप अभियान अन्तर्गत ललितपुरमा १० हजार, काभ्रेमा १४ हजार, नुवाकोटमा १२ हजार, सिन्धुलीमा १२ हजार, दोलखामा ६ हजार, चितवनमा ३० हजार, धादिङमा ११ हजार तथा मकवानपुरमा २५ हजार गरी कुल १ लाख २० हजार पशुमा खोप दिइने भएको छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशका ११९ स्थानीय तहमा हाल ६ लाख ९४ हजार २१७ गाईँ र ५ लाख ४९ हजार १८२ भैंसी रहेका छन् । आगामी भदौ १ गतेदेखि सुरु हुने अभियानको शुभारम्भ ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बाट गरिनेछ ।






